पाल्पामा चैते धान रोपाइँ: नेता भोट माग्न व्यस्त, किसान धान रोप्न मस्त।

[ रामचन्द्र रायमाझी ] 

पाल्पा:= यतिबेला पाल्पाका किसान चैते धान रोपाइँमा मस्त छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा नेताहरू भोट माग्न गाउँ-गाउँ पुगिरहेका बेला पाल्पाका किसानलाई भने चैते धान रोपाइँको चटारो छ । पाल्पाका विभिन्न फाँटहरूमा धमाधम चैते धान रोपाइँ भइरहेको छ । चैतको टण्टलापुर गर्मीमा यहाँका किसान धान रोप्नमै व्यस्त छन् ।

महिलाहरू हरियो धानको बिउ काढ्न र रोप्नमा व्यवस्त देखिन्छन् भने पुरुषहरू खेत हिल्याउन, आली गह्रा मिलाउनमै व्यस्त छन् । कतै किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् भने कतै गोरुको सट्टा ट्याक्टरको प्रयोग गरी हिलो फेटेका देखिन्छ । खेतमा किसान धान रोप्नमै मस्त छन् भने उता नेताहरू स्थानीय निर्वाचन लक्षित कार्यक्रम गर्दै मतदातासँग भोट मागिरहेका छन् ।

फागुन महिनामा बिउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने प्रचलन पाल्पामा छ । यहाँ नियमित रूपमा कुलो लाग्ने र प्रशस्त पानी भएका खोला नालाका फाँटहरूमा चैते धान रोप्ने गरिन्छ । यहाँ ६२० हेक्टरमा चैत्रे धानको खेती गरिन्छ भने सात सय कृषकले चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताउनुभयो ।

रामपुरमा पाँच सय रोपनी क्षेत्रफलमा धान खेती गरिन्छ । निस्दी गाउँपालिकामा करिब २८ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिन्छ । यहाँको ढुंगानाबेंसी, गल्धाफाँट, भोटाहा, लामेदमार, मुढाबास, दुनिडमार लगायतका क्षेत्रमा धान लगाउने गरिन्छ । बगनासकाली गाउँपालिकाको पोखराथोक, चिर्तुङधारा, यम्घालगायत क्षेत्रका केही कृषकले पनि धान लगाउने गरेका छन् । कुनै बेला चैते धानले मात्र हरियाली हुने माडीफाँटमा भने हिजोआज धान कम मात्रमा लगाउने गरिएको छ ।

पूर्वखोला गाउँपालिकाको देवीनगर, जल्पा, रिंगनेरह क्षेत्रमा पनि चैते धान लगाइन्छ । पूर्वखोला गाउँपालिकाको पूर्वखोला फाँटका अधिकांश किसानहरू वर्षैंदेखि चैते धानमा आकर्षित हुँदै आएका छन् । पूर्व-खोलाबासीले घरको धान प्रयोग गर्न कात्तिक महिना नै कुर्न पर्दैन, असार साउनमा पनि नयाँ धान भित्र्याएर आम्दानी गर्न सक्छन् ।

आफूले जानेदेखि नै हिउँदे धान रोप्दै आएका वीरकोटका कृषक धनबहादुर सारुले बताउनुभयो । असारमा हुँदै आएको धान रोपाइँ चैत्र महिनामा पनि देख्न पाउँदा नयाँ पुस्ता भने दंग छन् । कृषिमा आधुनिक प्रविधिसँगै बेमौसमी खेतीको प्रयोग बढ्दै गएको पाइन्छ ।

असारमा प्रशस्त मात्रामा नयाँ उत्पादन नहुने, खडेरी, गर्मी मौसमसँगै सुरु भएको वर्षा याममा भोकमरी तथा अनिकाल बढ्ने समयमा हिउँदे धानको उत्पादनले धेरै परिवारको छाक टर्ने, भोकमरी र अनिकाल हट्ने भएकाले नियमित रूपमा हिउँदे चैते धान लगाउँदै आएको पूर्व–खोलाकी मीना कामुले बताउनुभयो ।

यस्तै, रम्भा गाउँपालिकाको हुँगी क्षेत्रमा पनि धान धेरै उत्पादन हुने गर्दछ । त्यस्तै, तानसेनको माडी फाँट, अर्गेली, तिनाउ गाउँपालिकाको कचल, झ्याङ्ला, रिब्दीकोट र रैनादेवी छहराका तल्ला फाँटहरूमा धान खेती गरिँदै आइएको छ । चिउराका लागि चैते धान राम्रो मानिन्छ ।

देशमा दिनहँु खाद्यान्न उत्पादन घट्दै गएको, आयात बढ्दै गएको समयमा हिउँदे धान खेतीले केही रूपमा भए पनि उत्पादन वृद्धि गरी आयात घटाउनेछ । सरकारले आधुनिक कृषि प्रविधिमार्फत सिञ्चाइको सुविधा प्रदान गरेमा कृषकहरूलाई हिउँदे धान खेतीमा आकर्षित गराउन सकिने प्रशस्त सम्भावना देखिन्छ ।

विगतका वर्षमा गोरुले जोत्ने र हिल्याउने काम गर्दा ढिला सुस्ती हुन्थ्यो, तर आजभोलि गोरुको काम ट्याक्टरले गर्न थालेपछि रोपाइँ छिटो भएको रम्भाका कृषक रामप्रसाद बस्याल बताउनुहुन्छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण घर छाडेर बाहिर गएका व्यक्तिहरू गाउँ फर्किएका र जिल्लाका केही स्थानीय सरकारहरूले जमिन बाँझो राख्न नपाइने नीति बनाएका कारणले पनि यसपालि बाँझा खेतहरूमा पनि धान रोपाइँ भइरहेको छ ।