क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई मोबाइलमा जुवा, सट्टेबाजी तथा ठगीसँग सम्बन्धित अनलाइन गेमिङ एप नराख्न विशेष आग्रह गरेको छ।
दूतावासले आफ्नो साप्ताहिक लाइभ कार्यक्रममार्फत सचेतना फैलाउँदै यस्ता एपको प्रयोगबाट नेपाली श्रमिकहरू विभिन्न कानुनी तथा आर्थिक समस्यामा पर्ने गरेको जनाएको हो।
दूतावासका अनुसार जुवा तथा सट्टेबाजीमा आधारित अनलाइन एपको प्रयोग गर्दा आर्थिक क्षति हुनुका साथै ठगीमा पर्ने, ऋण तथा आर्थिक तनाव बढ्ने र कतिपय अवस्थामा कानुनी झमेलासमेत निम्तिन सक्ने जोखिम हुन्छ।
विशेषगरी अनलाइन जुवा, सट्टेबाजी वा शंकास्पद गेमिङ एप डाउनलोड गर्ने, प्रयोग गर्ने वा त्यसमार्फत रकम कारोबार गर्ने कार्यबाट टाढा रहन दूतावासले नेपाली श्रमिकहरूलाई आग्रह गरेको छ।
मलेसियामा लागू स्थानीय कानुनअनुसार प्रतिबन्धित वा गैरकानुनी गतिविधिसँग सम्बन्धित एप तथा कारोबारमा संलग्न भएको पाइएमा कानुनी कारबाही हुन सक्ने भएकाले मोबाइलमा रहेका यस्ता एपहरू हटाउन र अपरिचित लिंक तथा एप प्रयोग नगर्न दूतावासले अनुरोध गरेको छ।
दूतावासले नेपाली श्रमिकहरूलाई छिटो पैसा कमाउने प्रलोभनमा नपर्न, अनलाइन ठगीबाट सचेत रहन र आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरण अपरिचित व्यक्ति वा एपमा उपलब्ध नगराउन समेत आग्रह गरेको छ।



















