नेपाली क्रिकेटका पुर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको सीओओमा नियुक्त

क्वालालम्पुर (मलेसिया):= नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा पूर्वप्रशिक्षक विनोद दास मलेसिया क्रिकेट एसोसिएसन (एमसीए) को चिफ अपरेटिङ अफिसर (सीओओ) पदमा नियुक्त हुनुभएको छ।

अन्तर्राष्ट्रिय खुला आवेदन प्रक्रियामार्फत मलेसिया क्रिकेटको उच्च व्यवस्थापकीय पदका लागि छनोट भएपछि दासले नेपाल क्रिकेट संघ (क्यान) मा क्रिकेट म्यानेजरको जिम्मेवारीबाट राजीनामा दिनुभएको हो।

खेलाडी, कप्तान, प्रशिक्षक हुँदै क्रिकेट व्यवस्थापनमा समेत लामो अनुभव हासिल गर्नुभएका दासले अब मलेसिया क्रिकेटको प्रशासनिक तथा सञ्चालनसम्बन्धी जिम्मेवारी सम्हाल्नुहुनेछ। उहाँले यसअघि नेपाली राष्ट्रिय टोलीसँगै विभिन्न उमेर समूहका टोलीको प्रशिक्षकका रूपमा समेत काम गरिसक्नुभएको छ।

मलेसिया क्रिकेट एसोसिएसनमा सीओओका रूपमा दासको नियुक्तिलाई नेपाली क्रिकेटको व्यवस्थापकीय क्षमताले अन्तर्राष्ट्रिय स्तरमा पाएको महत्वपूर्ण पहिचानका रूपमा लिइएको छ। अन्तर्राष्ट्रिय क्रिकेटको व्यवस्थापनमा नेपाली क्रिकेट पृष्ठभूमिका व्यक्तिले उच्च जिम्मेवारी पाउनु नेपालका लागि समेत उल्लेखनीय उपलब्धि मानिएको छ।

दासले नेपालमा खेलाडी र प्रशिक्षकका रूपमा लामो समय योगदान गरेपछि पछिल्लो समय क्रिकेट व्यवस्थापनतर्फ आफ्नो अनुभव विस्तार गर्दै आउनुभएको थियो। क्यानमा क्रिकेट म्यानेजरका रूपमा काम गर्दा उहाँले राष्ट्रिय तथा घरेलु क्रिकेटको व्यवस्थापनमा समेत भूमिका निर्वाह गर्नुभएको थियो।

मलेसिया प्रस्थान गर्नुअघि दासले यो निर्णय आफ्ना लागि भावनात्मक रुपमा चुनौतीपूर्ण रहेको बताउनुभएको छ। नयाँ जिम्मेवारीले मलेसिया क्रिकेटको विकाससँगै नेपाल र मलेसियाबीचको क्रिकेट सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

दासको नियुक्तिले नेपाली क्रिकेटमा खेलाडी र प्रशिक्षकका रूपमा हासिल गरेको अनुभवलाई अन्तर्राष्ट्रिय क्रिकेट प्रशासनमा समेत उपयोग गर्ने नयाँ अवसर सिर्जना गरेको छ।