एजेन्सी:= ओस्कर्स पुरस्कार वितरण समारोहमा प्रस्तोता क्रिश रकलाई अभिनेता विल स्मिथले थप्पड हालेको भिडियो नेपालमा पनि निकै हेरिएको छ । नेपालको युट्युवको ट्रेन्डिङमै बसेको उक्त भिडियोमा स्मिथले स्टेजमै गएर प्रस्तोतालाई थप्पड हान्नुभएको छ ।
यसैबीच अभिनेता स्मिथले प्रस्तोतालाई कार्यक्रममै थप्पड हान्नु गलत भएको भन्दै माफी माग्नुभएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘क्रिश, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ ।’
ओस्कर्स फिल्म एकेडेमीले स्मिथको व्यवहारको भत्र्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उहाले माफी माग्नुभएको हो । हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिंकेट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता स्मिथले क्रिसको गालामा थप्पड हान्नुभएको थियो ।
क्रिशले पिंकेट स्मिथको कपाल झर्ने समस्या, एलोपेसियाको कारण मुडुलो बनाएको टाउकोप्रति लक्षित ठट्टा गर्नुभएको थियो । उहाँले कार्यक्रममा भन्नुभएको थियो , ‘आई लभ यु जाडा । म जीआई जेन–२ को प्रतीक्षामा छु ।’ जीआई जेन सन् १९९७ को हलिवुड चलचित्र हो जसमा फिल्मकी प्रमुख नायिकाले शिर मुण्डन गर्नुभएको थियो । घटनाको केही क्षणपछि अभिनेता स्मिथले किङ रिचर्ड नामक चलचित्रमा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बुबाको भूमिका निर्वाह गरेकोमा ओस्कर पुरस्कार जित्नुभएको थियो ।
‘हिंसाको हरेक स्वरूप विषाक्त र विनाशकारी हुन्छ ।’ स्मिथले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ । ‘गत राति एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र अक्षम्य छ ।’
ममाथि हुने ठट्टाहरू मेरो कामको एउटा अंश हो तर जाडाको स्वास्थ्य अवस्थाप्रति गरिएको ठट्टा असह्य थियो र मैले भावनात्मक रूपमा प्रतिक्रिया जनाएँ ।’ स्मिथले आफ्नो व्यवहारले ‘सीमा नाघेको’ भन्दै रक, एकेडेमी र विलियम्सको परिवारसँग पनि माफी माग्नुभएको छ ।




















