काठमाडौं:= आगामी जेठ १४ गते हुने नेपालमा आयोजना हुने भनिएको बलिउड अभिनेता सलमान खानको सांगीतिक कार्यक्रममा नेपाली अभिनेत्रीयद्वय माला लिम्बू र मुना गौचनले पनि प्रस्तुति दिने बताइएको छ ।
आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार माला र मुनाले स्टेजमा नृत्य गर्नुहुनेछ । गुरुङले भन्नुभएको छ, ‘उहाँहरूसँग मौखिक सहमति भएको छ, अन्य कलाकारको टुंगो लाग्न बाँकी छ ।’
सलमान अभिनित चलचित्रको कुनै एक चर्चित गीतसहित मालाले नेपाली गीत ‘झँकास झापाली’ र ‘काले दाइ’मध्ये कुनै एक गीतमा प्रस्तुति दिने बुझिएको छ । मालाका अनुसार ट्रयाक फाइनल हुन बाँकी छ ।
मालाले यसअघि पनि सलमानको कार्यक्रममा प्रस्तुति दिने तय भएको थियो, तर कार्यक्रम स्थगित भयो । मुम्बईमा रहेर मोडलिङ गर्दै आइरहेकी नेपाली अभिनेत्री मुनाले समेत सलमानको कन्सर्टमा प्रस्तुति दिने बताइएको छ । नेपाली चलचित्र ‘जालो’बाट अभिनयमा डेब्यु गरेकी मुना कन्सर्टकै लागि मुम्बईदेखि नेपाल आउने तयारीमा हुनहुुन्छ ।




















