काठमाडौं:= साताको सुरुदेखि निरन्तर घट्दोक्रममा रहेको सेयर बजार बुधबार भने ४०.६८ अंकले बढेको छ । बुधबार नेप्से ४०.६८ अंकले बढेर २५६८.२६ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१३ अंकले बढेर ४८०.०६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
यस दिन कारोबारमा आएका दुई सय ३२ मध्ये एक सय ९९ कम्पनीको सेयरमूल्य बढेको छ भने २४ वटाको घटेको छ । नौ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । कारोबारमा आएका सबै समूहगत सूचक बढ्नुका साथै कारोबार रकमसमेत बढेको छ ।
मंगलबार एक अर्ब ७५ करोडको सेयर कारोबार भएको बजारमा बुधबार ५० करोडले बढेर दुई अर्ब २५ करोड एक लाख १७ हजार दुई सय ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान, नेष्डो समृद्ध लघुवित्त र सामलिङ पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर, तेह्रथुम पावर, सिन्धु विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङको सेयरमूल्य छ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बुधबार सिद्धार्थ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै ११ करोड २७ लाख रुपैयाँ बराबरको कारोबारमा आएको छ भने प्रभु इन्स्योरेन्स संस्थापक १०.९२ करोड तथा नबिल बैंक १०.०९ करोडको कारोबार भएको छ ।




















