त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० खेलमा पपुवा न्यु गिनी (पिएनजी) लाई मलेसियाले हरायो।

काठमाडौं := त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मंगलबार भएको खेलमा पपुवा न्यु गिनी (पिएनजी) मलेशियासँग ८ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मलेसियाले ८ रनले पराजित गर्दा अन्तर्राष्ट्रिय शृखंलामा विजयी सुरुआत पनि गरेको छ । पिएनजीले भने लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।

मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.३ बलमा सबै विकेट गुमाएर मात्र १७२ रन जोड्न सक्यो । पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै नोर्मान भानुवाले ४५ रन बनाउनुभयो । सिमोन अटाइले १५ रन जोड्दा असाद भाला ११ रनमा आउट हुनुभयो । मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिनुभयो । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले ३/३ विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रनको योगफल जोडेको थियो । मलेसियाका दुई ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेले । स्कोरबोर्डमा १२ रन छँदा पहिलो विकेट गुमाएको मलेसियाका विरन्दिप सिंह र कप्तान अहमद फैजले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हाल्नुभएको थियो ।

यसबाहेक, विरन्दिपले तेस्रो विकेटका लागि सेद अजिजसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्नुभएको थियो । मलेसियाका ओपनर विरन्दिपले अविजित ५९ रन बनाउनुभयो । यस्तै, फैजले ५६ रन बनाउँदा अजिज ४७ रनमा पभेलियन फर्किनुभयो । पिएनजीका नोर्मान भानुआले दुई विकेट र नोसैन पोकनाले एक विकेट लिनुभयो ।

जितसँगै मलेशियाले पनि तालिकामा दुई अंक जोडेको छ । यसअघि पिएनजीसँग १५ रनको जित निकालेको नेपालको समान दुई अंक छ । मलेसियाले अब बुधबार घरेलु टोली नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपालको वरियता खस्कियो

नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई)को विश्व वरियतामा खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुई स्थान तल खस्कदै १८ आंै स्थानमा छ । अघिल्लो हप्ता घरेलु मैदानमा नेपाले पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा हार ब्यहोरेको थियो ।

नेपालपछि अमेरिका १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । त्यसअघि १६ औं स्थानमा ओमान र १७ औं स्थानमा नामिबिया छन् । स्कटल्यान्ड १२ औैं स्थानमा छ । टेस्ट टोली जिम्बावे १३ औं, नेदरल्यान्ड्स १४ औं र युएई १५ औं स्थानमा छ ।