आफूलाई छाड्नुपर्ने मागगर्दै पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन निवेदन।

काठमाडौं:= १७ वर्षिय नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा पुर्पक्ष थुनामा रहनुभएका अभिनेता पल शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिनुभएको छ ।

आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिनुभएको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रिहा गर्न माग गरेको उहाँले बताउनुभएको छ ।

दुई दिनसम्म जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत, तनहुँले शाहलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो । नाबालिगलाई विवाह गर्छु भनी प्रलोभन देखाएर जबरजस्तीकरणी गरेको देखिन आएको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अहिले पल दमौली कारागारमै हुनुहुन्छ ।

शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध तारिखमा रिहाइ गरेर मुद्दा लड्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरिएको जानकारी दिनुभयो । जबरजस्तीकरणीको मुद्दामा थुनामा राखेर, साधारण तारिखमा रिहा गरेर वा धरौटीमा छाडेर अनुसन्धान गर्न अदालतले आदेश दिन सक्ने व्यवस्था छ ।

नाबालिगले गत फागुन ११ गते शाहविरुद्ध जबरजस्तीकरणीको आरोपमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी दिनुभएको थियो । यसको चार दिनपछि अर्थात् शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेको दिन ती नाबालिगले पूर्वी नवलपरासीको प्रहरी कार्यलयमा पनि जाहेरी दिनुभएको थियो । शाहसँग तनहुँ प्रहरीले २१ दिन र नवलपरासी प्रहरीले सात दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।