मिश्रलाई हटाउने संस्थापनइतर समूहको तयारी
[ डिबी शर्मा ]
काठमाडौं:= विवेकशील साझा पार्टीमा फेरि विवाद उत्पन्न भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरण गर्ने तयारी गरेपछि पार्टीमा विवाद चुलिएको हो । यसअघि मिश्रले मार्ग परिवर्तनः ‘विचारभन्दा माथि देश’ राजनीतिक दस्ताबेज ल्याएपछि राजनीतिक रूपमा विभाजित विवेकशीलमा फेरि चर्को असन्तु ष्टि देखिएको हो ।
मिश्रले ‘विचारभन्दा माथि देश’ राजनीतिक दस्ताबेज पारित गरेपछि मिलन पाण्डे समूह राजनीतिक रूपमा अलग्एिको थियो । पाण्डेसँगको विवादमा मिश्रको पक्षमा उभिएका नेताहरू पनि अहिले मिश्रको विपक्षमा उभिएका छन् । उनीहरूले मिश्रलाई नै अध्यक्षबाट हटाउने तयारी गरेका छन् ।
पछिल्ला विवादको औपचारिक सुरुवात आइतबारको केन्द्रीय समिति बैठकबाट भएको हो । आइतबार केन्द्रीय समिति बैठकमा असन्तुष्ट समूहले राजावादी पार्टीसँग एकता प्रयासका विषयमा अध्यक्ष मिश्रसँग जानकारी मागेका थिए । मिश्रले कुनै जवाफ नदिएपछि विवाद बढेको हो ।
अध्यक्ष मिश्रले उल्टै पार्टीका २६ जना केन्द्रीय सदस्यमाथि कारबाही, प्रदेश संयोजकहरूको हेरफेर र स्थानीय चुनावको तयारीसम्बन्धी निर्णय सुनाएपछि विवाद चर्किएको थियो ।निर्णय सुनाएर मिश्र हिँडेपछि असन्तुष्ट समूहको बैठकले अध्यक्ष मिश्रलाई तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
उक्त स्पष्टीकरणको जवाफ नआए अध्यक्षलाई नै पदबाट हटाउने चेतावनी असन्तुष्ट समूहका नेताहरूले दिएका छन् । असन्तुष्ट समूहका तर्फबाट ज्येष्ठ सदस्य भीमप्रसाद अधिकारीको तर्फबाट जारी विज्ञप्तिमा मिश्र अक्षम अध्यक्ष, निजी स्वार्थका लागि पार्टी राजावादी आन्दोलनमा बुझाउन प्रयत्नशील रहेको आरोप लगाइएको छ ।
पार्टी कार्यालयमा तनाव, एक-अर्काविरुद्ध नाराबाजी
पार्टी कार्यालयमा दुवै पक्षले समानान्तर गतिविधि गरेपछि मंगलबार तनाव उत्पन्न भएको छ । कार्यालय परिसरमा संस्थापन पक्षले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । तर, त्यही समयमा असन्तुष्ट पक्षले पनि छुट्टै पत्रकार सम्मेलन गरेपछि संस्थापन पक्षले हस्तक्षेप गरेको हो ।
मिश्र पक्षले गुटको भेला गर्न पाइँदैन भन्दै चर्को नाराबाजी गरेको थियो भने असन्तुष्ट पक्षले पनि संस्थापनविरुद्ध नाराबाजी गरेको थियो । विवाद बढेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपरेको थियो । दुई पक्षका नेता तथा कार्यकर्ताबीच धकेलाधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले दुवै पक्षलाई पार्टी कार्यालयबाहिर निकालेको थियो ।
दुई पक्षबीच विवाद बढ्दै गएपछि पार्टीको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ । पार्टी कार्यालयका तर्फबाट जारी सूचनामा केही व्यक्तिहरूले अनधिकृत तवरले कार्यक्रम गर्न खोजेपछि त्यसको कारण उत्पन्न हुने जोखिमलाई ध्यानमा राखेर अर्को निर्णय नहुँदासम्म कर्मचारीबाहेक अन्यका लागि कार्यालय बन्द रहेको उल्लेख छ ।
विवेकशील साझालाई राप्रपामा विलय हुन दिन्नौँ : सिलवाल
विवेकशीलका असन्तुष्ट नेता निर्देश सिलवालले पार्टीभित्र भएका अन्यायका विषय राख्न खोज्दा रोक्न खोजिएको बताउनुभयो । उहाँले पार्टीभित्र अध्यक्ष मिश्र अल्पमतमा परेको र हस्ताक्षरसहित आफूहरूले निर्वाचन आयोगमा जानकारी गराएको दाबी गर्नुभयो । पार्टीलाई कुनै पनि हालतमा राप्रपाकरण हुन नदिने उहाँको भनाइ छ । ‘अहिले समस्याको जड भनेको विवेकशील साझालाई राप्रपाकरण गर्ने कि नगर्ने भन्ने हो ।
हामी राजावादी हुन सक्दैनौँ । विवेकशील साझालाई राप्रपामा विलय हुन दिन्नौँ,’ उहाँले भन्नुभयो, ‘कुनै पनि हालतमा राप्रपासँग एकीकरण हुँदैन । विवेकशील साझाको आधिकारिक पक्ष हामी हौं । हामीसँग बहुमत छ । निर्वाचन आयोगमा बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएका छौँ । आयोगले छानबिन गर्दै छ।’
केही व्यक्तिले अवैधानिक र अराजक गतिविधि गरेका छन् : पाठक
संस्थापन पक्षका नेता सरदराज पाठकले भने पार्टीको शुभकामना आदानप्रदान कार्यक्रमलाई बिथोल्न अर्को पक्षले पत्रकार सम्मेलन गर्न खोजेपछि विवाद भएको बताउनुभयो । उहाँले पार्टीको विधि–विधान नमान्ने पक्षले तनाव सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो । आफू अनुकूलको निर्णय गराउन नसक्दा अर्को पक्षले अनावश्यक विकृति उत्पन्न गर्न खोजेको धारणा राख्नुभयो ।
‘मंगलबार प्रदेश इञ्चार्ज र संयोजकलाई शुभकामना दिन कार्यक्रम गर्न लागेको बेला जुधाएर पार्टीमा विधि-विधान नमान्ने अराजक समूहले कार्यक्रम गर्न खोज्दा केही तनाव भयो । मुठभेड ल्याउने नियतले अभद्र र अमर्यादित गतिविधि भएको छ,’ उहाँले भन्नुभयो, ‘यो नियोजित क्रियाकलापको निरन्तरता हो।
केही साथीहरूमा विकृत वामवादी सोच देखिएको छ । गुटका क्रियाकलाप गर्न पाइँदैन । उहाँहरूले बहुमतको हस्ताक्षर रहेको भनेर भ्रम फैलाउन खोज्नुभएको छ । त्यो नितान्त असत्य हो । केही व्यक्तिले अवैधानिक र अराजक गतिविधि गरेका छन् । पार्टीमा यसको खास असर छैन ।’
रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिटलर हुन्, पार्टी कार्यालय मिश्रको पेवा होइन : पाण्डे
विवेकशील साझाका तत्कालीन संयोजक मिलन पाण्डेले पार्टी कार्यालयमा आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई रोक लगाएकोमा अध्यक्ष रवीन्द्र मिश्रको आलोचना गर्नुभएको छ । उहाँले मिश्रलाई छोटे हिटलरको संज्ञा दिनुभएको छ ।
‘रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे,’ पाण्डेको भनाइ छ, ‘यो उनको अर्को अलोकतान्त्रिक कदम हो । साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिटलर हुन् । म मिश्रको यो कदमको घोर भत्र्सना गर्छु । पार्टी कार्यालय मिश्रको पेवा होइन ।’




















