काठमाडौं := पाँच दलीय सत्तारूढ गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । चुनावी गठबन्धनबारे कांग्रेसभित्र लामो समयदेखि चर्को विवाद थियो । पार्टी सभापति शेरबहादुर देउवा आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी गठबन्धन गरेर जानुपर्ने पक्षमा हुनुहुन्थ्यो भने संस्थापनइतर समूह गठबन्धनको विपक्षमा अडान राख्दै आएको थियो ।
तर, लामो विवाद र रस्साकस्सीपछि अन्ततः कांग्रेसले चुनावी गठबन्धनको पक्षमा नै निर्णय गरेको छ । शुक्रबारदेखि चार दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय परिस्थिति र आवश्यकता हेरेर आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समिति बैठकमा एकमहिने स्थानीय निर्वाचन केन्द्रित अभियानको लागि जिल्ला खटाइएको केन्द्रीय प्रतिनिधिको स्थानीय वस्तुस्थिति र पार्टीको अवस्था बारेको रिर्पोट, सातवटै प्रदेशका सभापतिहरूले पार्टी अवस्थाबारे दिएको जानकारी, केन्द्रीय सदस्य र पदाधिकारीको गठबन्धनबारे राखेको धारणालाई समेटेर कांग्रेसले चुनावी गठबन्धनबारे निर्णय लिएको हो ।
बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी तालमेल गरेर जाने सर्वसम्मत निर्णय भएको जानकारी दिँदै भन्नुभयो, ‘स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनसँग तालमेल गरेर जाने निर्णय पार्टी केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मत गरेको छ, तालमेलको निर्णयपछि अब त्यसका विधि र प्रक्रियाहरू निर्माणका लागि आवश्यक छलफल अघि बढाउँछौँ ।’
बैठकले गरेको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो, ‘स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरूसँग चुनावी तालमेल गर्ने सर्वसम्मत निर्णय भएको छ ।
स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरूप अगाडि बढाइनेछ ।’
तर, उम्मेदवार तय गर्नेजस्ता विभिन्न निर्णय भने विधानको व्यवस्थाअनुसार नै विभिन्न तहबाट गरिने प्रवक्ता महतको भनाइ छ । महतले भन्नुभयो, ‘विधानको प्रक्रिया र व्यवस्थाअनुसार जुन तहलाई जुन अधिकार दिइएको छ त्यहीबाट तालमेलको निर्णय हुन्छ ।’ कांग्रेस विधानअनुसार प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा संसदीय बोर्ड गठनको व्यवस्था छ । यही समितिले नै कुन दलसँग तालमेल गर्ने भन्ने निर्णय गर्नेछ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको सहकार्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सरकार बनाउँदा साथ दिएका दलहरूलाई नै कांग्रेसले चुनावसम्म कायम राख्ने निर्णय गरेको हो ।
वर्तमान सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चुनावी गठबन्धन गर्नुपर्नेमा जोड दिँदै आएका थिए । पछिल्ला दिनहरूमा गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी गठबन्धनबारे छिटो निर्णय लिन कांग्रेसलाई दबाब दिँदै आएका थिए ।
मंगलबार केन्द्रीय समिति बैठकअघि उपसभापति पूर्णबहादुर खड्काको कार्यकक्षमा बसेको पदाधिकारी बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेलको निर्णय गर्ने गरी ड्राफ्ट तयार पारेको थियो । पदाधिकारी बैठकमा गठबन्धन राख्ने कि तालमेल भन्ने विषयमा विवाद भएको थियो ।
इतर पक्षले गठबन्धनको सट्टा तालमेल राख्नुपर्ने अडान नछोडेपछि चुनावी तालमेल भन्ने शब्द राखिएको थियो । स्थानीय तहको निर्वाचनमा सम्बन्धित पालिकाहरूको आवश्यकताअनुसार तालमेल गर्ने गरी निर्णय गर्ने पदाधिकारी बैठकले तयार गरेको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको थियो ।
कांग्रेसले पार्टीका पालिका समितिहरूले त्यहाँको राजनीतिक समीकरण र अन्य पार्टीको प्रभाव हेरेर त्यहीँअनुसार चुनावी तालमेलको निर्णय लिन सक्ने अधिकार पनि दिएको छ । केन्द्रीय समिति बैठकमा इतर समूहका नेताहरू शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतका नेताहरूले चुनावी गठबन्धनका विपक्षमा धारणा राख्नुभएको थियो । तर, प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवालगायत अधिकांश संस्थापनपक्षका नेताहरूले गठबन्धनको पक्षमा वकालत गर्नुभएको थियो ।
संसदीय समिति (बोर्ड) गठन गर्न असफल
कांग्रेसको चार दिनसम्म चलेको केन्द्रीय समिति बैठक संसदीय समिति गठन गर्न भने असफल भएको छ । संसदीय समिति (बोर्ड)मा पदाधिकारीबाहेक राख्नुपर्ने ११ सदस्यको सम्बन्धमा पार्टीभित्र विवाद बढेपछि केन्द्रीय समिति बैठक संसदीय समिति गठन गर्न असफल भएको हो । कांग्रेसको विधानमा केन्द्रीय संसदीय समिति बढीमा २५ सदस्यीय हुने उल्लेख छ ।
कांग्रेसको विधानमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति गरी चार तहमा संसदीय समिति (बोर्ड) हुने व्यवस्था छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि नै चैत १५ गतेभित्र तल्लो तहका संसदीय समिति गठन गरिसक्न परिपत्र जारी गरिसक्नुभएको छ । तर, केन्द्रीय संसदीय समिति गठन बैठकको मुख्य एजेण्डामध्ये एक भएपनि सदस्यका विषयमा विवाद भएपछि गठन हुन नसकेको हो ।
पार्टीको संस्थापन इतर समूहले वरिष्ठ नेताहरूलाई पन्छ्याएर सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरू ल्याउन खोजेको भन्दै स्वीकार नगर्ने चेतावनी दिएपछि संसदीय समिति गठनको विषय थाती राखिएको बताइएको छ । आवश्यक परामर्शपछि संसदीय बोर्ड गठन गर्ने तयारी रहेको प्रवक्ता महतले जानकारी दिनुभयो ।
केन्द्रीय समितिले देशव्यापी रूपमा क्रियाशील सदस्यता र साधारण सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ । कांग्रेसमा प्रायः महाधिवेशन हुने वर्ष अन्तिममा मात्रै क्रियाशील सदस्यता वितरण गर्दा विवाद हुने गरेको छ ।
चुनावी कमाण्डर उपसभापति खड्का
यसैबीच, नेपाली कांग्रेसले आगामी वैशाख ३० गते तय स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गर्नुका साथै समितिको संयोजकमा उपसभापति खड्कालाई तोकिएको हो ।
समितिको सदस्य पार्टी सभापति देउवाले आपसी परामर्शमा तोक्ने बताइएको छ । यस्तै, निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई तोकेको छ। यस्तै, कांग्रेसले संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका शन्र्दभमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास तथा समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको ठहर गरेको छ ।
यस्तै, मंगलबार सम्पन्न केन्द्रीय समितिको बैठकले संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेका स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार तथा परिस्थिति निर्माण भइसकेको निष्कर्ष निकालेको छ ।




















