काठमाडौं:= आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई निर्वाचन आयोगले आफ्नै चुनाव चिन्ह प्रदान गर्ने भएको छ । आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिन्ह पाउँछन् । राष्ट्रिय मान्यता प्राप्त गरेका बाहेकका साना दललहरूले समेत आफ्नै चुनाव चिन्ह पाउनुपर्ने माग गरेका थिए । सोही आधारमा आयोगले जिल्लामा रहेका संगठनको संरचनाको विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् ? भन्ने टुंगो लगाएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
यस्तै, स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी दिएको हो। निर्वाचन आयोगका अनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष मतदाता र र १८३ अन्य मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको पनि आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरू तोकिएको र उनीहरूको नामावली पनि सार्वजनिक गरिएको बताउनुभयो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षणका लागि भाग लिन संस्थाहरूलाई निवेदन पेश गर्न पनि आ≈वान गरेको छ ।
यसैबीच, निर्वाचन आयोग, नेपालले मतपत्र छपाइका लागि मेसिनलगायत सामग्रीहरू तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । त्यसैगरी, आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही आज (मंगलबार)देखि कल सेन्टर सञ्चालनमा ल्याउन लागिएको पनि जनाएको छ । निर्वाचन आयोगले कल सेन्टर सञ्चालनका लागि ११०२ टोल फ्री नम्बरको व्यवस्था गरेको छ ।




















