अब भारतमा ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ सेवा।

काठमाडौं:= ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङमार्फत् भारत पे, पेटिएम, गुगल पेलगायत भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने भएको छ । ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकलाई क्युआर सुविधा सुचारु गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकलाई सामान खरिद गर्दा क्युआरमार्फत् भारत पे, पेटिएम, गुगल पेलगायत विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सेवा सञ्चालनपछि नेपाल र भारतबीचको क्रस बोर्डर भुक्तानी सहज हुने भएको छ । त्यसैगरी ग्राहकले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकबाट ग्लोबल आइएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्ने बैंकले जनाएको छ ।