ग्लोबल आइएमई बैंकको मिथिला संस्कृति झल्कने चित्र समाबेश क्यालेन्डर सार्वजनिक।

काठमाडौं:= ग्लोबल आइएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्र समावेश गर्दै २०७९ को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीले आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गर्नुभएको हो ।

ग्लोबल आईएमई बैंकले हरेक वर्ष क्यालेन्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । चालु वर्ष २०७८ को क्यालेन्डरमा पनि बैंकले नेपालमा रहेका विभिन्न जातजातिका गरगहना र पहिरनलाई समावेश गरेको थियो । सो अवसरमा बैंक अध्यक्ष ढकालले नयाँ क्यालेन्डरमार्फत् मिथिला चित्रकला प्रवद्र्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताउनुभयो ।

करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पार्नुभएको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिनुभयो । कलाकार साहले भिडियो सन्देशमार्फत् मिथिला कलालाई क्यालेन्डरका लागि छनोट गरेकोमा बैंकलाई धन्यवाद दिनुभएको थियो ।