काठमाडौं:= नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबल खेलमा थाइल्याण्डको चोनबुरी एफसी क्लबसँग हार ब्यहोरेको छ । आइतबार भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले चोनबुरीसँग ३-१ गोलअन्तरको हार ब्यहोरेको हो ।
पहिलो हाफमा एक गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो । नेपालका लागि दर्शन गुरुङले एक गोलबाहेक अन्य खेलाडीले फर्काउन सकेनन् । खेलमा राष्ट्रिय टोलीका सिनियर खेलाडीहरूलाई आराम दिइएको थियो । नेपाली टोलीको कप्तानी अनन्त तामाङले गर्नुभएको थियो ।
चोनवुरीसँगको खेलमा प्रशिक्षक अब्दल्लाह अलमुताइरीले कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई विश्राम दिँदै दीप कार्कीलाई गोलपोस्टको जिम्मेवारी सुम्पिनुभएको थियो । योसँगै नेपालले थाइल्याण्ड भ्रमणको अन्त्य गरेको छ । यसअघि नेपालले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो ।
एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलको तयारीका लागि नेपाल थाइल्याण्ड पुगेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
नेपाली टोलीमा कप्तान किरण चेम्जोङ, टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ र रोहित चन्द रहनुभएको थियो ।




















