फिफा विश्वकप छनौट खेलमा अर्जेन्टिनाको सहज जित।

लन्डन:= फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३-० को सहज जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा निकोलस गोन्जालेज, एन्जल डी मारिया र कप्तान लियोनल मेस्सीले गोल गर्नुभयो ।

खेलको ३४औँ मिनेटमा रोड्रिगो डी पउलको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा १-० को अग्रता दिलाउनुभएको थियो । ७९औँ मिनेटमा एन्जल डी मारियाले अग्रता दोब्बर पार्नुभयो । ८२औँ मिनेटमा एन्जल डी मारियाकै पासमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाउनुभयो ।

यो जितपछि दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाले ११ जित र ५ बराबरीको नतिजा निकालेको छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा रहेको छ ।

फ्रान्सको जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले आइभोरी कोस्टमाथि २-१ को जित हात पार्‍यो । शुक्रबार राती भएको खेलमा फ्रान्सका ओलिभर जिरुड र एरोलिइन चुओमेनीले गोल गर्दा आइभोरी कोस्टका निकोलस पेपेले एक गोल फर्काउनुभयो । खेलको १९औँ मिनेटमा निकोलस पेपेको गोलबाट आइभोरी कोस्टले अग्रता बनाएको थियो । २२औँ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै खेललाई १-१ को स्थितिमा पुर्‍याउनुभयो ।

इन्जुरी समयमा एरोलिइन चुओमेनीले गोल गर्दै फ्रान्सलाई जित दिलाउनुभएको थियो।  अर्को मैत्रीपूर्ण खेलमा एर्लिङ ब्राउट हालान्ड र मार्टिन ओडेगार्डको गोलमा नर्वेले स्लोभाकियालाई २-० गोलअन्तरले पराजित गर्‍यो । ७७औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाउनुभयो । ८०औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै नर्वेलाई जित दिलाउनुभयो ।