देहेरादुन := भारतको उत्तराखण्डमा पुनः पुष्करसिंह धामी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उत्तराखण्डमा हालै भएको विधानसभा चुनावमा धामी पराजित हुनु भए पनि पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । भारतीय कांग्रेसका युवा उम्मेदवार भुवन कापडीले मुख्यमन्त्री धामीलाई पराजित गर्नुभएको थियो ।
विधानसभा चुनावमा पराजित भएर पनि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले धामीलाई नै पुनः मुख्यमन्त्री बनाएको हो । शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष जेपी नड्डा लगायत सहभागी हुनुहुन्थ्या । मुख्यमन्त्रीको शपथ लिएपछि धामीले आठ मन्त्री नियुक्त गर्नुभएको छ ।
धामी सरकारका नयाँ मन्त्रीमा सतपाल महाराज, प्रेमचन्द्र अग्रवाल, गणेश जोशी, धनसिंह रावत, सुबोध उनियाल, रेखा आर्य, चन्दनराम दास र सौरभ बहुगुणा हुनुहुन्छ । नवनियुक्त मन्त्रीहरू सबैले विधानसभा चुनाव जितेका थिए । मुख्यमन्त्री भएको ६ महिनामै राज्यमा अलग छाप छोडेको भन्दै पार्टीको शीर्ष नेतृत्व धामीलाई नै जिम्मेवारी दिने निष्कर्षमा पुगेको थियो।
उहाँका लागि सिट छोड्न धेरै विधायक तयार भएका छन् । रक्षामन्त्री राजनाथ सिंहले पछिल्लो ६ महिनामा धामीले मुख्यमन्त्री भएर पार्टीको पक्षमा शानदार काम गरेको भन्दै पुनः मुख्यमन्त्री बनेर अब राज्यको बहुआयामिक विकास गर्ने केही दिनअघि बताउनुभएको थियो । धामीको नेतृत्वमा भाजपाले हालै सम्पन्न कुल ७० सिटको विधानसभा निर्वाचनमा ४७ सिट अर्थात् बहुमत हासिल गरेको थियो ।
धामी ६ महिनाभित्र उपनिर्वाचनमा विजयी भएर आउनुपर्नेछ । भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो । निर्वाचनमा पराजित भएपछि ११ मार्चका दिन धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।




















