क्वालालम्पुर (मलेसिया):= नेपालमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार (SAR) कार्यमा सहयोग गर्न मलेसिया सरकारले आफ्नो विशेष खोज तथा उद्धार टोली ‘SMART’ नेपाल पठाउने निर्णय गरेको छ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आइतबार, अगस्ट ३०, २०२६ मा नेपालमा गत बुधबार आएको बाढी प्राकृतिक विपत्तिप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै यस्तो निर्णय गरिएको जानकारी दिएका हुन्।
मलेसियाको राष्ट्रिय सुरक्षा परिषद् (MKN) र राष्ट्रिय विपद् व्यवस्थापन निकाय (NADMA) ले विदेश मन्त्रालय (KLN) सँगको सहकार्यमा नेपाली सरकारसँग आवश्यक समन्वय गरी SMART टोलीलाई यथाशीघ्र नेपाल पठाउने तयारी गर्नेछन्।
मलेसियाली विशेष टोलीले नेपालमा उद्धार तथा खोजी कार्यमा सहयोग गर्नुका साथै बाढीबाट प्रभावित मलेसियाली नागरिकहरूको खोजी गरी उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन समेत भूमिका निर्वाह गर्नेछ।
त्यस्तै, नेपालस्थित मलेसियाली दूतावासलाई प्रभावित नागरिकहरूको उद्धार, समन्वय तथा आवश्यक सहयोग उपलब्ध गराउन SMART टोलीले सघाउनेछ। प्रभावित मलेसियाली नागरिकको सुरक्षा, स्वास्थ्य तथा कल्याण सुनिश्चित गर्न समेत टोली परिचालन हुने जनाइएको छ।
यसैबीच, मलेसिया सरकारले नेपालका बाढी प्रभावित नागरिकलाई राहत तथा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा सहयोग पुर्याउन अधिकतम १० लाख अमेरिकी डलर (US$1 million) नेपाली रु. १५ करोड ३३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
नेपालमा आएको विपद्को समयमा मलेसियाले उद्धार टोलीसँगै आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेपछि दुई देशबीचको मानवीय सहयोग र मैत्रीपूर्ण सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ।




















