क्वालालम्पुर:= चीनको तिब्बत हुँदै गत बुधबार नेपालको रसुवा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोपछि मलेसियामा उक्त प्राकृतिक विपत्तिलाई धार्मिक घटनासँग जोडेर विभिन्न किसिमका प्रचार–प्रसार हुन थालेका छन्।
विशेषगरी सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा केही मलेसियाली इस्लाम धर्मावलम्बीहरूले नेपालमा बाढी आउनु भन्दा केही दिनअघि मात्रै तराई क्षेत्रमा रहेको एक मस्जिदमा आगजनी गरिएको र कुरान जलाइएको दाबी गर्दै सोही घटनाका कारण नेपालमा बाढी आएको भन्दै धार्मिक कोणबाट टिप्पणी तथा आरोप लगाइरहेका छन्।
यद्यपि, प्राकृतिक विपत्ति कुनै धार्मिक समुदायले गरेको कार्यको परिणाम हो भन्ने दाबीको वैज्ञानिक वा आधिकारिक पुष्टि भएको छैन। र धर्मको नाममा झगडा लडाइँ भएको तराई क्षेत्रका केहि ४,५ जिल्लामा मात्रै हो , भने बाढीबाट पहाडका जिल्लामा क्षेती पुगेको छ। पहाडको जनताले दु:ख भोग्नु परेको छ ।
यस्तो संवेदनशील विषयलाई प्रमाणबिना धार्मिक घटनासँग जोड्दा विभिन्न समुदायबीच गलत बुझाइ, घृणा र तनाव बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। यसैबीच, मलेसियाको इस्लामिक प्रचार संस्था यायासन दक्वाह इस्लामिया मलेसिया (YADIM) ले नेपालको सिराहा जिल्लाको गोलबजारमा रहेको एक मस्जिदमा भएको तोडफोड तथा आगजनीप्रति कडा आपत्ति जनाएको छ।
YADIM का अध्यक्ष दातुक डा. हसन बहरोमले उक्त घटनामा मस्जिदभित्र रहेका कुरानका प्रतिहरू तथा हदीससम्बन्धी सामग्रीसमेत जलेर नष्ट भएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले कुरान जलाउने, मस्जिदमा आगजनी गर्ने वा कुनै पनि धर्मको पूजा स्थलमा क्षति पुर्याउने कार्य सभ्य समाजको मूल्य–मान्यताविपरीत रहेको बताएका छन्।
“धार्मिक स्वतन्त्रतालाई कुनै पनि धर्म वा धार्मिक स्थलको अपमान, प्रदूषण वा विनाश गर्ने आधार बनाउन मिल्दैन,” YADIM ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।YADIM ले समुदायबीच उत्पन्न हुने धार्मिक तथा सामाजिक तनावलाई संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ। धर्मका नाममा उत्तेजना, हिंसा वा प्रतिशोधको बाटो रोज्न नहुने संस्थाको भनाइ छ।
इस्लाम धर्मले समेत अन्य धर्मका पूजा स्थलको सम्मान गर्न तथा फरक धार्मिक आस्था भएका समुदायप्रति न्यायपूर्ण व्यवहार गर्न सिकाउने YADIM ले जनाएको छ। यसैबीच, नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिलाई लिएर कुनै समुदाय, धर्म वा पीडित नागरिकमाथि दोषारोपण नगर्न पनि आग्रह गरिएको छ। विपत्तिमा परेका नागरिकको दुःखलाई धार्मिक विवादको विषय बनाउनुभन्दा मानवीय सहयोग, राहत र उद्धारमा केन्द्रित हुनुपर्ने आवाजसमेत उठेको छ।
नेपालमा पछिल्लो समय प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भइरहेको अवस्थामा धार्मिक भावनालाई उत्तेजित गर्ने प्रचारले दुई देशका नागरिक तथा विभिन्न धार्मिक समुदायबीच गलत धारणा सिर्जना गर्न सक्ने देखिन्छ। त्यसैले बाढीको वास्तविक कारणबारे वैज्ञानिक तथ्य र आधिकारिक सूचनालाई आधार बनाउन तथा धार्मिक सद्भाव कायम राख्न आवश्यक देखिएको छ।
YADIM ले नेपालमा शान्ति तथा सद्भाव पुनःस्थापित होस् र बाढी तथा अन्य घटनाबाट प्रभावित सबै नागरिकले आवश्यक सुरक्षा, राहत र सहयोग प्राप्त गरून् भन्ने कामनासमेत गरेको छ।




















