बाढी–पहिरो पीडितका लागि फेयर कनेक्ट रिसोर्स म्यानपावरको रु.५१ हजार सहयोग।

क्वालालम्पुर (मलेसिया):= चीनको तिब्बत हुँदै रसुवा नाका भएर गत बुधबार नेपाल प्रवेश गरेको बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार, राहत तथा सहयोगका लागि वैदेशिक रोजगार व्यवसायी संस्था फेयर कनेक्ट रिसोर्स प्राइभेट लिमिटेडले नेपाली रु.५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

म्यानपावर ब्यावसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सम्पूर्ण म्यानपावर व्यवसायीहरूबाट एकमुष्ट रकम संकलन गरी नेपाल सरकार र पीडितहरुलाई हस्तान्तरण गर्ने अभियान सञ्चालन गरिरहेको छ।

सोही अभियानअन्तर्गत फेयर कनेक्ट रिसोर्सले ५१,००० हजार रुपैयाँ सहयोग गरेको हो। विगत एक दशकदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय रहँदै आएको फेयर कनेक्ट रिसोर्सले विशेषगरी मलेसियामा इथिकल रिक्रुटमेन्ट, फ्री भिसा–फ्री टिकट लगायतका मागअनुसार हजारौँ नेपाली कामदारलाई रोजगारीका लागि पठाउँदै आएको जनाएको छ।

कम्पनीले मलेसियासँगै यूएई, दुबई, साउदी अरब, कतार, बहराइन, रोमानिया लगायत युरोपका विभिन्न मुलुकहरूमा समेत नेपाली श्रमिकका लागि रोजगारीका अवसर उपलब्ध गराउँदै आएको छ।

वैदेशिक रोजगार व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको फेयर कनेक्ट रिसोर्सले नेपालका ग्रामीण क्षेत्रका विद्यालयहरूलाई सहयोग गर्नुका साथै अनाथ आश्रमलगायत सामाजिक क्षेत्रमा समेत समय–समयमा सहयोग योगदान गर्दै आएको छ।

फेयर कनेक्ट रिसोर्सका निर्देशक दीपक गुरुङले यतिबेला पुनः देशमा विपत्ति परेको अवस्थामा आफ्नो संस्थाको तर्फबाट सानो भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ राहत रकम प्रदान गरिएको बताए।

“देशमा ठूलो विपत्ति आइपरेको यो कठिन समयमा पीडित नागरिकहरूको उद्धार तथा राहतका लागि थोरै भए पनि हाम्रो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले यो रकम प्रदान गरेका हौँ,” निर्देशक गुरुङले भने।

उनले वैदेशिक रोजगार व्यवसायीहरू पनि देश र समाजप्रतिको आफ्नो सामाजिक दायित्व पूरा गर्नुपर्ने धारणा राख्दै विपत्तिको समयमा सबै क्षेत्रबाट सकेको सहयोग आवश्यक रहेको बताए। फेयर कनेक्ट रिसोर्सले आगामी दिनमा पनि आफ्नो व्यवसायिक गतिविधिसँगै सामाजिक सेवाका क्षेत्रमा समेत निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ।