बागलुङ:= ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा दुई सय ८९औँ शाखा विस्तार गरेको छ । साबिकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखाका रूपमा परिमार्जित गरिएको हो । सोमबार बागलुङ नगरपालिका–१४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ ।
बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले संयुक्तरूपमा शाखा उद्घाटन गर्नुभएको बताइएको छ ।
त्यस्तै एटिएम काउन्टरको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गर्नुभएको थियो । बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी आमजनतालाई बैंकिङ सेवा प्रदान गर्दै आएको र बलेवा शाखाले पनि स्थानीय बासिन्दा, किसान तथा व्यवसायीलाई उत्कृष्ट सेवा प्रदान गर्ने जानकारी गराउनुभयो । ग्लोबल आइएमई बैंक बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो ।




















