जापानले हटायो कोभिड विरुद्ध लगाएको प्रतिबन्ध।

टोकियो := जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको प्रतिबन्धलाई १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ । जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसविरुद्ध अपनाउनुपर्ने मापदण्डका रूपमा प्रतिबन्ध लगाइएको थियो ।

जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धलाई हटाएको जनाएको छ । यसरी प्रतिबन्ध हटाइएका प्रिफेक्चरहरूमा टोकियो र ओसाका पनि छन् । यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्ध लगाइएको थियो । मंगलबारदेखि यहाँका अधिकारीहरूले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाएको जनाएको हो ।

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरू सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो । तर, अहिले ती सबै प्रतिबन्ध हटाइएको छ । यहाँ अब नागरिकहरू ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरू सञ्चालन गर्न पाउने भएका छन् ।

बाँकी प्रिफेक्चरहरूमा भने कोभिड-१९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ । आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्ध हटाउन सकिने सरकारले जनाएको छ ।