विश्व क्रिकेट लिग–२ क्रिकेट खेलमा युएईसँग नेपालको लगातार दोस्रो हार।

काठमाडौं:= विश्व क्रिकेट लिग–२ मा नेपालले युएईसँग लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार दुबईमा भएको खेलमा नेपालले ९९ रनको फराकिलो हार व्यहोरेको हो । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै समेटिएको थियो ।

यसअघि, शुक्रबार भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो । सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन जोड्नुभयो । ७३ बलमा उनले दुई चौका र एक छक्का प्रहार गर्नुभएको थियो । यस्तै, मोहम्मद वासिमले ३३ रन जोड्नुभयो । उहाँले ५१ बलमा दुई चौका र एक छक्का प्रहार गर्नुभयो ।

त्यसबाहेक चिराग सुरीले २६, वृत्य अरविन्दले २४, आलिसन साराफुले २१ र वासिल अहमदले १७ रन थप्नुभयो । नेपालका सन्दीप लामिछानले तीन विकेट लिनु्भयो । १० ओभरमा उहाँले एक ओभर मेडन राख्दै तीन विकेट ३२ रन खर्चनुभयो । यस्तै, सोमपाल कामी र करण केसी दुई÷दुई विकेट तथा दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान एक÷एक विकेट लिनुभयो ।

युएईका मोहम्मद वासिम र चिराग सुरीले ५७ रनको अर्धशतकीय ओपनर पार्टनरसिप गर्नुभएको थियो । १६औँ ओभरमा सन्दीप लामिछानेलेले वासिमलाई बोल्ड पार्दै नेपाललाई पहिलो सफलता दिलाउनुभयो । चिराग सुरीलाई १९औं ओभरमा करण केसीले विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराउनुभयो ।

त्यसपछि युएईको पारी वृत्य अरविन्द र रोहन मुस्ताफाले अघि बढाउनुभयो । चौथो विकेटका लागि उहाँहरूबीच ४७ रनको साझेदारी भएको थियो । रोहन मुस्ताफालाई ४६औँ ओभरमा सोमपाल कामीले बोल्ड पारेपछि नेपालले राहतको श्वास फेरेको थियो ।

जवाफमा नेपालले खराब सुरुवात ग¥यो । २१ रन बनाउँदा नै नेपालले चार विकेट गुमाइसकेको थियो । यसै खेलमा मौका पाएका ओपनर पवन सर्राफ २ रनमै आउट हुनुभयो । जनिद सिद्दिकीले उनलाई विकेटकिपर वृत्यबाट क्याच गराउनुभयो ।

अर्का ओपनर कुशल भुर्तेल पनि पाँच रनमै आउट हुनुभयो । कासिफ दाउदको बलमा उहाँले अहमद राजालाई क्याच थमाउनुभयो । दीपेन्द्रसिंह ऐरी खाता नै नखोली पवेलियन फर्कनुभयो । जिनेदकै बलमा ब्याटको किनारा लागेपछि वृत्यले दीपेन्द्रको क्याच समात्नुभयो ।

लगत्तै क्रिजमा आएका रोहित पौडेल पनि धेरै बेर टिक्नुभएन । २१ बल खेल्दै एक चौका प्रहार गर्नुभएकाले उहाँले नौ रनमात्रै जोड्नुभयो । ज्ञानेन्द्र मल्ल र आरिफ सेखले मध्यक्रममा नेपाली पारी सम्हाल्ने प्रयास गनुर््भएको थियो । उहाँहरूबीच पाँचौँ ओभरका लागि ३३ रनको साझेदारी समेत भएको थियो ।

तर, आरिफलाई मोहम्मद राजाले रोहन मुस्ताफाको हातबाट क्याच गराएपछि उक्त साझेदारीसमेत टुट्यो । आरिफले ४० बलमा एक चौकासहित १५ रन मात्रै जोड्न सक्नुभयो । ज्ञानेन्द्र मल्लले ६५ बलमा ३० रन जोड्नुभयो । उहाँले दुई चौका प्रहार गर्नुभयो ।

यस्तै, विनोद भण्डारीले १२ रन जोड्नुभयो । १६ बलमा उहाँले दुई चौका प्रहार गर्नुभएको थियो । यस्तै, सोमपाल कामीले १५ रन जोड्नुभयो । युएईका जुनिद सिद्दिकीले चार तथा कासिफ दाउद र जाहोर खानले समान दुई÷दुई विकेट लिनुभयो ।

यो खेलसँगै लिग–२ मा ११ खेल खेलेको नेपालले चार खेलमा जित र ६ खेलमा हारसहित १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा छ । १८ खेलमा २२ अंक जोड्दै युएई दोस्रो स्थानमा छ । नेपालले अब मंगलबार जारी क्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ ।

सात टोली सहभागी जारी प्रतियोगिताको शीर्ष तीन टोलीले २०२३ को क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् । तल रहने चार टोलीले प्लेअफ खेल्नुपर्नेछ ।