विराटनगर:= मोरङमा एक प्रहरी जवानको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । जिल्लाको लेटाङ नगरपालिका–५ यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरीमाथि आइतबार राति आक्रमण हुँदा कर्तव्य पालनाकै क्रममा एक महिला प्रहरीको हत्या भएको हो ।
खेरुवास्थित शिक्षा विकास माविका सामाजिक विषय पढाउने शिक्षक मनोज पौडेलले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहारको प्रयास गरेको विषयमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको हो । भिडले उहाँको घाँटी र छातीमा छुरा प्रहार गरेको प्रहरीको भनाइ छ ।
गत शुक्रबार होली खेल्ने क्रममा शिक्षकले कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेका थिए । आक्रोशित विद्यार्थी र अभिभावकले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि परिचालन गरिएका सुरक्षाकर्मीमाथि उनीहरूले आक्रमण गरेका थिए । जसमा एक महिला प्रहरीले ज्यान गुमाउनुप¥यो ।
खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक पौडेलले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले आइतबार दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरेका थिए । सोहीक्रममा विद्यार्थी र अभिभावकको आक्रमणमा परी प्रहरी जवान श्रेष्ठको हत्या भएको हो । आइतबार बिहान ११ बजेदेखि अबेर रातिसम्म लेटाङ अशान्त बनेको थियो ।
घटनापछि थप दुर्घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ गाउँपालिकामा कफ्र्यु आदेश जारी गरेको छ । प्रशासन कार्यालय मोरङले चिसाङ खोलापूर्व, मोरंगी खोला पश्चिम, लेटाङको वडा नम्बर ६ को कार्यालय दक्षिण र कमलपुरबाट उत्तर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । बिहान ७ बजेदेखि निषेधाज्ञा कफ्र्यु जारी भएको जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा उल्लेख छ ।
६ जना पक्राउ, घटनाबारे छानबिन हुने
लेटाङमा एक महिला प्रहरीको ज्यान जानेगरी भएको झडपपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मोरङ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाम भने गोप्य राखेको छ । घटनाको छानबिन पनि हुने उहाँले बताउनुभयो ।
घटनास्थलमा सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुणकुमार विसीलगायत सुरक्षा निकायका प्रमुखहरूले स्थलगत निरीक्षण गर्नुभएको थियो । उहाँले घटनाको अनुसन्धान सुरु भइसकेकाले र दोषीहरूलाई कुनै पनि बहानामा नछोडिने बताउनुभयो ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङ नगरपालिकामा एक महिला प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सोमबार सुन्दर हरैचा नगरपालिका-८ सलकपुरमा रहेको प्रशासनिक कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
घटना कसरी भयो ?
स्थानीयका अनुसार शुक्रबार शिक्षक मनोज पौडेल पीडित बालिकाको घरमा पुगेका थिए । बालिकाले पानी दिने क्रममा पौडेलले यौन दुव्र्यवहार गरेको स्थानीयको भनाइ छ । आइतबार विद्यालयमा पीडित बालिकाले साथीहरूलाई भनेपछि घटना सार्वजनिक भएको थियो । शिक्षक पौडेलले दुव्र्यवहार गरेको घटना प्रधानाध्यापक र वडा अध्यक्षसम्म पुगेको थियो । वडा अध्यक्षसहित विद्यालयमा छलफल चलिरहेका बेला आक्रोशित विद्यार्थी र स्थानीयबासीले ढुंगामुढा तथा तोडफोड र आगजनी गर्न सुरु गरेका थिए । लेटाङ– ५ का वडा अध्यक्ष भूमबहादुर सूर्य मगरका अनुसार आक्रोशित विद्यार्थी र स्थानीयबासीले विद्यालयमा आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । उहाँका अनुसार स्थिति तनावग्रस्त बनेपछि प्रहरी बोलाइएको थियो । राति करिब ९ बजेपछि शिक्षक पौडेललाई पक्राउ गरेर लैजाने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको उहाँले बताउनुभयो । झडपमा एकजना महिला प्रहरीले ज्यान गुमाउनुपर्यो । १८ प्रहरी र दुईजना स्थानीय बासिन्दा घाइते भएका छन् । उनीहरूको उपचार जारी छ ।
आक्रोशित भिडले शिक्षक पौडलसहित दुईजना शिक्षकको मोटरसाइकलमा अगजनी गरेका थिए भने केही शिक्षकको मोटरसाइकलमा तोडफोडसमेत गरेका थिए । उनीहरूले विद्यालयको खानेपानी ट्यांकी, बोर्ड, धारा लगायतका भौतिक संरचनासमेत भत्काइदिएका छन् । बालिकामाथि यौन दुव्र्यवहार आरोप लागेका शिक्षक पौडेललाई पाँच वर्षअघि पनि यौन दुव्र्यवहारकै घटनामा मिलापत्र गराएर छाडिएको खुलेको स्थानीयको भनाइ छ ।




















