काठमाडौं := स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै देशभर फारम भर्नेको लर्को लागेको छ । आइतबार बिहानैदेखि मुलुकका जिल्ला प्रहरी कार्यालयमा फारम भर्नेहरूको भिड लागेको हो । म्यादी प्रहरीमा भर्ती हुनका लागि युवाहरूको आकर्षण देखिएको छ । उसो त म्यादी प्रहरीको फारम भर्न युवा–युवती मात्रै होइन वयस्कहरू समेत लाममा देखिएका छन् ।
म्यादी प्रहरीमा भर्ना हुन आउनेहरूमा उल्लेख्य संख्यामा महिलाहरू छन् । केही महिलाहरू त छोराछोरी काखमा च्यापेरसमेत दर्खास्त बुझाउन आएका देखिए । चैतको चर्को घाममा उनीहरू दरखास्त बुझाउने लाइनमा देखिन्थे । काठमाडौं उपत्यकामा सम्बन्धित जिल्लाको प्रहरी परिसर र उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा आइतबार दिनभर भिडभाड देखिन्थ्यो । म्यादीका लागि साना बच्चा बोकेका महिलाहरू फारम भर्न पुगेका थिए ।
प्रहरी प्रधान कार्यालयले चैत १ गते प्रकाशन गरेको सूचनाअनुसार आइतबारदेखि चैत ११ गतेसम्म दरखास्त दिन सकिनेछ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन पाउँछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुनुपर्ने सूचनामा उल्लेख छ।
आवेदक कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको ५ फिट २ इञ्च र ५० केजी तौल, महिलाको हकमा ५ फिट उचाइ र तौल कम्तीमा ४२ केजी हुनुपर्ने शर्त राखिएका छन् ।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्व–सुरक्षाकर्मीलाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा एक लाखजना जनशक्ति माग गरेको छ ।
कुन प्रदेशमा कति म्यादी प्रहरी ?
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा म्यादी प्रहरी भर्ना गरिनेछ । मधेशमा २१ हजार ६९८ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालयका अुसार सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार ७१३ जना म्यादीको दरबन्दी निर्धारण गरिएको छ ।
बागमती प्रदेशअन्तर्गत उपत्यका बाहेकका जिल्लामा ११ हजार ३६३ म्यादी भर्ना गरिनेछ भने उपत्यकाका तीन जिल्लाका लागि चार हजार ७३५ म्यादी प्रहरी भर्ना गर्ने तयारी छ । गण्डकी प्रदेशमा १० हजार ६२५ म्यादी प्रहरी भर्ना गरिँदै छ । लुम्बिनी प्रदेशमा १६ हजार ९८ म्यादीको दरबन्दी कायम गरिएको छ । सुदूरपश्चिमका नौ जिल्लामा नौ हजार ९३७ म्यादी भर्ना गर्न लागिएको छ ।
कति पाउँछन् सेवा सुविधा ?
म्यादी प्रहरीको तलब नेपाल प्रहरीको जवानसरह हुनेछ । उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिनेछ । यस्तै, खाद्यान्नबापत सात हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार थप भत्ता उपलब्ध गराइनेछ ।
यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारीस्वरूप एक हजारका लागि तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, बीमा लगायतका सुविधा पनि हुनेछ ।




















