काठमाडौं:= आउँदो वर्षको वैशाख १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । कलाकार सौगात मल्ल, बुद्दि तामाङ र दिया पुनको मुख्य भूमिका रहेको ‘मन्त्र’को शनिबार एक कार्यक्रमबीच दुई मिनेट ३२ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
खिलबहादुर गुरुङद्वारा निर्देशित यस चलचित्र गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको हो । उक्त संस्थासँग डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ । हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ ।
करिब ५१०० मिटरभन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्यामसम्म पुगेर निकै नै मेहनतका साथ चलचित्रको छायांकन गरिएको निर्देशक खिलबहादुर गुरुङले बताउनुभयो । चलचित्र ट्रेलरले दर्शकलाई एकपटक हलसम्म तान्नेमा गुरुङ विश्वस्त रहनुभएको छ । कार्यक्रममा बोल्दै अभिनेता सौगात मल्लले छायांकनको क्रममा भएको रमाइलो अनुभव शेयर गर्नुभयो । आफूले काम गरेको पछिल्लो चलचित्रहरू मध्येमा ‘मन्त्र’ आफूलाई एकदम मन परेको चलचित्र हो सौगातले भन्नुभएको छ ।
चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको चलचित्रका दृश्यहरूले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुंगिन गुम्बा लगायतका रमणीय दृश्यहरू कैद गरिएको छ ।
चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्रमार्फत सौगात र दियाले पहिलोपटक स्क्रिन शेयर गर्नुभएको छ । चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहनुभएको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सहनिर्देशन रहेको चलचित्रमा सह निर्माताको रूपमा भीमसेन केसी र विशेष सहयोगी अमृत थापा रहनुभएको छ । चलचित्रको डिजिटल राइट्स एट के एभरेष्ट मोसन पिक्चर्सले लिएको छ ।
साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ । चलचित्रको काठमाडौंबाहिर एफडी कम्पनी र उपत्यकामा गोविन्द शाहीले वितरणको जिम्मा लिनुभएको छ ।




















