काठमाडौं:= सरकारले रोजगारीबाट वञ्चित गरिब तथा विपन्न परिवारका सन्तानको शिक्षा, स्वास्थ्यमा चासो नदिए पनि सरकारी कर्मचारीका सन्तानलाई भने अध्ययन खर्च दिने भएको छ । सरकारले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ ।
सरकारले प्रत्येक वर्ष स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयका आंगिक वा सम्बन्धनप्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक वा सो सरहको तहमा प्रथम वर्षमा भर्ना भई अध्ययन गरिरहेका निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार २० लाख रुपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए पाँच लाख रुपैयाँ, १५ लाख रुपैयाँभन्दा बढी २० लाख रुपैयाँसम्म लाग्ने भए चार लाख रुपैयाँ, १० लाख रुपैयाँभन्दा बढी १५ लाख रुपैयाँ शिक्षण शुल्क लाग्ने भए तीन लाख रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै पाँच लाख रुपैयाँभन्दा बढी १० लाख रुपैयाँसम्म शिक्षण शुल्क लाग्ने भए दुई लाख रुपैयाँ, एक लाख रुपैयाँभन्दा बढी पाँच लाख रुपैयाँसम्म लाग्ने भए एक लाख रुपैयाँ र एक लाख रुपैयाँभन्दा कम लाग्ने भए लागेको शुल्कबमोजिमको रकम प्रदान गरिनेछ ।
तर, निर्देशिकामा जेसुकै कुरा लेखिएको भए पनि विदेशमा अध्ययन गरिरहेको भएमा, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा अन्य सार्वजनिक संस्था वा सम्बन्धित अध्ययन संस्थाबाट छात्रवृत्ति प्राप्त गरेको भएमा शैक्षिक प्रोत्साहन वृत्ति प्रदान नगरिने निर्देशिकामा उल्लेख छ ।
शैक्षिक प्रोत्साहन वृत्तिका लागि १० प्लस दुई वा सो सरहको परीक्षामा कम्तीमा सी प्लस ग्रेड प्राप्त गरी जिपिए २.४ वा सो सरह अंक प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने, स्वदेशी विश्वविद्यालय वा त्यस्ता विश्वविद्यालयका आंगिक वा सम्बन्धनप्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भई स्नातक तहको प्रथम वर्षमा अध्ययन गरिरहेको हुनुपर्ने, २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने, निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल सरकार वा स्थानीय तह वा अन्य सार्वजनिक सेवाको पदमा स्थानीय नियुक्ति नभएको हुनुपर्नेछ ।
शैक्षिक प्रोत्साहन वृत्तिलाई समावेशी बनाउन समितिले शैक्षिक प्रोत्साहन वृत्तिका लागि प्रचलित निजामती सेवासम्बन्धी संघीय कानुनमा व्यवस्था भएबमोजिम समावेशी कोटा छुट्याइएको प्रतिशतलाई शतप्रतिशत मानी सोहीबमोजिमको कोटा निर्धारण गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।




















