युट्युब रेकर्ड : प्रकाशको ‘पिर’ गीतलाई सात दिनमै करोड भ्युज।

केही दृश्यमाथिको आलोचना, व्यापक चर्चासहित व्यावसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन : सपूत

काठमाडौं:= नेपाली गीत संगीतको इतिहासमा लोकप्रिय सर्जक प्रकाश सपूतको नयाँ गीत ‘पिर’ले भिडियो सेयरिङ साइट युट्युबमा नयाँ रेकर्ड राखेको छ । युट्युबमा अपलोड गरिएको एक सातामै एक करोड भ्युज पाउँदा यो गीतको भिडियोले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाली युट्युबमा विशेष गरी लोकगीतको इतिहासमै यो सबैभन्दा छिटो करोडपटक हेरिएको भिडियो बन्न पुगेको छ । यसअघि सात महिनाअघि सार्वजनिक गायिका विष्णु माझीको ‘चरी जेलैमा’ बोलको गीतलाई १२ दिनमा एक करोडपटक हेरिएको थियो । उक्त गीतको रेकर्ड तोड्दै प्रकाशको ‘पिर’गीतले पाँच दिननजिक अर्थात् सात दिनमै करोड भ्युज पाएको हो ।

यसअघिका प्रकाशकै गीत ‘गलबन्दी’ १७ दिनमा र कुरा बुझ्न पर्च १५ दिनमा करोड भ्युज पाउन सफल भएका थिए । यसपटकको ‘पिर’ गीत विशेषगरी विवादमा परेकाले पनि छोटो समयमै करोडपटक हेरिएको बुझ्न सकिन्छ । गीतको १६ मिनेट लामो भिडियोको ९ मिनेटको एक दृश्यलाई लिएर माओवादी नेताहरूले आलोचना गरेपछि भिडियो विवादमा आयो । सोहीअनुरूप सामाजिक सञ्जालमा अत्यधिक टीका टिप्पणीको विषय बनिरहेको थियो ।

गीतको भिडियो जनयुद्धमा सहभागी जनमुक्ति सेनाहरूको दुःखलाई देखाइएको छ । विशेष गरी भिडियोको नौ मिनेटपछिको एक दृश्यमा जनयुद्धमा सहभागी महिला देहव्यापारमा लागेको देखाइएको थियो । उक्त भिडियोले गलत सन्देश प्रवाह गरेको भन्दै माओवादी वृतमा चर्को आलोचना भएको थियो । भिडियोको उक्त दृश्य सम्पादन गरिनुपर्ने मागसमेत गरिएको थियो ।

भिडियो सार्वजनिक भएको केही दिनमा गायक तथा गीतका सर्जक प्रकाशले गीतले प्रवाह गर्न खोजेको सन्देश अर्कै भएको तर माओवादी वृतको बुझाई फरक परेको बताउनुभएको छ ।प्रकाशले एक अन्तर्वार्तामा भन्नुभएको छ, ‘मैले यो किसिमको टीका टिप्पणी होला भन्ने सोचेको थिइनँ । यद्यपि, उक्त देहव्यापारको एक दृश्यले उहाँहरूको मन दुःखेको छ भन्ने महसुस गरेको छु ।

तर, समग्रमा भिडियोको सन्देशलाई हेर्नुभयो भने नराम्रो छ जस्तो लाग्दैन ।’ यस्तै, प्रकाशले ‘तपाईं कुनै एनजिओमार्फत चल्नुभयो, चुनावको मुखमा राजनीतिक पार्टीमाथि प्रहार गर्नुभयो भन्छन् नि ?’ भन्ने प्रश्नमा अघि भन्नुहुन्छ, ‘म त्यति ठूलो पहुँचको व्यक्ति पनि होइन । म साधारण व्यक्ति हुँ । संगीत कसरी मिठो हुन्छ होला, कसरी राम्रो बनाउन सक्छु होला भनेर सोचिरहेको हुन्छ, यो गीतले कसलाई के गर्ला भन्नेतिर ध्यान जाँदैन ।

गीत भित्रे बाँसुरी मिठो धुन हाल्न सकेँ भने आहा कत्ति राम्रो भयो भनेर भुलेको हुन्छु, त्यतिमै रमाउने मान्छे हुँ ।’ ‘पिर’ गीतमा कन्सेप्ट र निर्देशन पनि प्रकाशकै रहेको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा विपिन भाटको सम्पादन छ । भिडियोमा प्रकाशसँगै सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन ‘केसरी’, पुष्प अवस्थी र विशाल घिमिरेको अभिनय रहेको छ ।

प्रकाशको आफ्नै नामको युट्युब हेर्ने हो भने यो सँगै सात वटा गीत करोड भ्युजमाथि छन् । तीमध्ये सर्वाधिक हेरिएको प्रकाशको गीत ‘गलबन्दी’ हो जसलाई अहिलेसम्म ५ करोडपटक हेरिएको छ । यस्तै, ‘पन्चेबाजा, बदला बरिलै, चरर बरर, मेरो पनि होइन र यो देश’ गीत करोड भ्युजको नजिक छन्।

भिडियो सम्पादनपछि पुनः अपलोड

प्रकाशले भिडियो सम्पादन गर्नुपर्ने आलोचना आइरहेकाले सम्पादन गरी पुनः अपलोड गर्नुभएको छ । महिला देहव्यापारमा राखिएको दृश्यलाई हटाइएको छ । उक्त दृश्यको ठाउँमा रिसुट भने गरिएको छैन । सोही भिडियोमै प्रयोग भएको दृश्यलाई उक्त ठाउँमा ‘फ्ल्यास ब्याक’मा देखाइएको छ । सम्पादन गरिएको भिडियो शनिबार साँझ ६ बजे अपलोड गरिएको थियो ।

प्रकाशले भिडियो सम्पादन पनि पुनः अपलोड गरेर सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पिरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको छ । सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक÷श्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह, समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ । सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ ।

यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्टिकोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भइरहोस् । जे होस, पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले, पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो ।’

प्रकाश अघि लेख्नुहुन्छ, ‘एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु । केही दृश्यमाथिको आलोचना, व्यापक चर्चासहित व्यावसायिक सफल भएको गीत र भिडियो त हटाएको छु । तर, गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन । आम नेपालीको अवस्थाको प्रतिविम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भीर प्रश्नहरू ।’