लमजुङ:= कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार २०२२ को जनवरीदेखि हालसम्म ५८५ जना विदेशी पर्यटक आएका छन् ।
उहाँका अनुसार जनवरी महिनामा ४१ जना, फेब्रुअरीमा १६९ र मार्च १५ सम्म ३७५ जना विदेशी पर्यटक पदमार्गमा आएका छन् । पदमार्गमा अहिले दैनिक ३०/४० जना विदेशी पर्यटक आएको गुरुङको भनाइ छ। पछिल्लो समय मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो । मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा अहिले बाहृय पर्यटकको आगमन बढेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘कोरोना र चिसोका कारण थला परेको पर्यटन क्षेत्र क्रमशः माथि उठ्ने आशा पलाएको छ । अब पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय पुरानै लयमा फर्कने देखिन्छ।’पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ ।
लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत् हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदमार्गको यात्रा पूरा हुन्छ ।लमजुङको सदरमुकाम बेसीशहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ,
जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुंगिन्छ । पदयात्राका सौखिनहरूका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पास गर्दा आन्तरिक तथा बाहृय पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।




















