लण्डन:= इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा स्थान पक्का गरेका छन्। बुधबार राति फ्रान्सेली प्रतिद्वन्द्वी लिललाई पराजित गर्दै चेल्सीले क्वार्टर फाइनलमा स्थान बनाएको हो ।
बुधबार राति दोस्रो लेगमा २-१ को जित निकालेको चेल्सीले समग्रमा समग्रमा ४-१ को नतिजासहित क्वार्टर फाइनलमा स्थान बनायो । पहिलो लेगमा चेल्सीले २-० को नतिजा निकालेको थियो । दोस्रो लेगमा चेल्सीले लिलमाथि पुनरागमन जित निकालेको हो ।
चेल्सीको जितमा क्रिस्टियन पुलिसिस र सेसर एज्पिलिक्वेटाले एक/एक गोल गर्नुभयो । लिलका बुराक यिल्माजले एक गोल फर्काउनुभएको थियो । खेलको ३८औं मिनेटमा बुराक यिल्माजको पेनाल्टी गोलबाट लिलले अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा क्रिस्टियन पुलिसिसले बराबरी गोल फर्काउनुभयो ।
उहाँले जर्गिन्होको पासमा बराबरी गोल फर्काउनुभएको हो । ७१औं मिनेटमा कप्तान सिसर एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीको जित पक्का गर्नुभयो । उहाँले मासन माउन्टको क्रसलाई गोल गर्नुभएको थियो ।
यस्तै, अर्को खेलमा इटालियन क्लब युभेन्ट्सलाई हराउँदै भिल्ला रियलले क्वार्टर फाइनलमा स्थान पक्का गर्यो । बुधबार राति भएको दोस्रो लेगमा भिल्लारियलले ३-० को जित निकाल्यो । पहिलो लेगमा १-१ को बराबरीको नतिजा निकालेका कारण समग्रमा ४-१ जितसहित भिल्लाले क्वार्टर फाइनलमा स्थान बनायो ।
भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गर्नुभयो । ७८औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई १-० को अग्रता दिलाउनुभयो । ८५औँ मिनेटमा पाउ टोरेसले सर्जी औरिएरको पासमा गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पार्नुभयो । इन्ज्युरी समयमा एर्नाउट डानजुमाले पेनाल्टीमा गोल गर्दै भिल्ला रियललाई जित दिलाउनुभयो ।




















