धनगढी := कैलालीको धनगढीमा सर्वाधिक धनराशिको प्रथम मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री बिवाइसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनुभयो । ‘खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो’ भन्ने मूल नारासहित हुने महिला गोल्डकप नेपालमै बढी महिला फुटबल खेलाडीहरूको सहभागिता रहने सर्वाधिक धनराशिको प्रतियोगिता रहेको उहाँको दाबी रहेको छ ।
‘नेपाल तथा सुदूरपश्चिममै महिला गोल्डकप फुटबल प्रतियोगिता कम भएको अवस्थामा यो प्रतियोगितालाई विशेष रूपमा हेरिएको छ ।’ प्रतियोगिता संयोजक अधिकारीले भन्नुभयो, ‘प्रतियोगितालाई उत्सव र शानको रूपमा हेरिन्छ भन्ने आशा पनि उजागर गरिएको छ ।’
प्रतियोगिताको विजेताले नगद पाँच लाख तथा उपविजेताले नगद दुई लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद पाँच हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई नगद १० हजार दिइनेछ । उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिईनेछ । प्रतियोगिता सञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘सुदूरपश्चिम प्रदेशमा फुटबलको चहलपहल बढाउने, यहाँका अभिभावकहरूलाई फुटबल खेलतिर उत्प्रेरित गराउने, सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने तथा तथा सुदूरपश्चिमका महिला फुटबल खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यसहित यो प्रतियोगिता आयोजनाको तयारी थालेका हौँ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले भन्नुभयो- ‘प्रतियोगिताले सुदूरपश्चिमका धेरै महिला खेलाडीको सम्भावनालाई उजागर गर्ने कुरा स्पष्ट छ ।’
आगामी दिनमा सुदूरपश्चिममा फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्नेमा पनि टेवा पुग्ने अपेक्षा गरिएको जोशीले बताउनुभयो । वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएको छ।
क्लबले सुदूरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरूको उपाधिसमेत जितेको छ । फागुन २८ गते धनगढीमै सर्वाधिक धनराशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप आयोजना गरिएको थियो ।




















