चुनावमा गठबन्धन गरेर जाने निर्णय अहिलेनै भएको छैन: महामन्त्री थापा।

काठमाडौं := नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभएको छ । आइतबार सुर्खेत पुग्नुभएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेको बताउनुभयो ।

‘योपटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको छ । तल्लो तहको समिति र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय समितिले निर्णय गर्छ ।’ पार्टीभित्र दुईथरि मत रहेको भन्दै महामन्त्री थापाले चैत दोस्रो साताभित्र निर्णय हुने बताउनुभयो ।

यस्तै, महामन्त्री थापाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसिसीबारे जनतामा भ्रम छर्ने काम भएको भन्दै निवारणका लागि गाउँगाउँमा जानु परेको बताउनुभयो । एमसिसीबारे आफूले जिम्मा लिने र भ्रम फैलाउन नेताहरूलाई पाँच वर्षपछि प्रश्न गर्ने उहाँको भनाइ थियो ।