काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिन सक्ने बताउनुभयो ।
नेपालका निर्माण व्यवसायीलाई एमसिसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन उहाँले आग्रह गर्नुभएको हो । अमेरिकी कानुनले एमसिसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरू खुसी हुने उहाँले बताउनुभयो ।
‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ यो । यो एमसिसीको बिडिङमा सफल हुनुहोस् । सबभन्दा पहिले हामी खुसी हुनेछौँ । अन्तर्राष्ट्रिय बिडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानुनले अन्तर्राष्ट्रिय बिडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन् । चीनका होस् । भारतको होऊन् । नेपालकै हुन सक्छन्,’ उहाँले भन्नुभयोे ।
प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउनुभयो । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्याहरूको नीतिगत, कानुनी र प्रक्रियागत रूपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।
निर्माण व्यवसायलाई अझै व्यावसायिक र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११औँ संशोधन गरिएको स्पष्टसमेत पार्नुभयो ।




















