काठमाडौं:= महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ ।
गोविन्द भट्टको शब्दरचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा देखिनुभएको छ । रोजगारीका लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषिकर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा छ ।
देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाललगायतको अभिनय छ। कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको र गायन केवल प्रयासमात्रै रहेको बताउनुभयो।
हमालले आफूले अभिनय गरिरहेका अन्य म्युजिक भिडियोजस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मिहिनेतपछि यो गीत तयार भएको बताउनुभयो । कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफूले व्यंग्यात्मकरूपमा उक्त कुरा भनेको बताउनुभयो ।




















