पोखरा:= एमाले अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुईतिहाइको सरकार ढालेर प्रचण्ड–माधवलाई दशा लागेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै ओलीले गठबन्धनका नाममा उनीहरूले देउवाको ढोका कुरेर ‘प्रसाद’ मागिरहेको टिप्पणी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘झण्डै दुईतिहाइको सरकार ढालेर प्रचण्ड-माधवलाई दशा लाग्यो । सरकार ढालेर गएका विचराहरू, ढोकाबाहिर कुरेर बस्याछन् । प्रसाद बाँड्न आउँछन् कि भनेर । कताका जंगेहरू कताका बुंगे भए ।’
उहाँले आफू नेतृत्वको सरकार सर्वोच्चले असंवैधानिक तरिकाले हटाएको दाबी गर्नुभयो । आफू नेतृत्वको सरकार ढाल्न न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको ओलीले दाबी गर्नुभयो । उहाँले भन्नुभयोे, ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारिदिएको थियो, त्यो सरकारले ? वर्गीय पूर्वाग्रह, दूराग्रह र विकास विरोधीको एउटा षड्यन्त्रको हिस्सेदार भएर सरकार ढाल्ने काम भएको थिया ।’
उहाँले भन्नुभयो ‘संविधानबाहिर गएर जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ । संसद्ले सरकार बनाउने र भत्काउने गर्छ । संसद् र जनप्रतिनिधिको काम हो । अदालतको होइन । तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो । अहिले गोरु ब्यायो मात्र होइन, पाँचवटा बाच्छा पायो ।’
ओलीले पाँच दलीय गठबन्धनलाई चुनावबाटै ठेगान लगाइदिने चेतावनी दिनुभयो । उहाँले यसका लागि सडक आन्दोलन र बलिदान गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । ‘देशको राजनीति बिगार्न नदिन बलिदान, रगत बगाउने होइन, सडकमा गइराख्नुपर्ने अवस्था पनि छैन,’ ओलीले भन्नुभयोे, ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ, किनकि, महान् जनताको साथ हामीलाई छ ।’ राजनीति दुई धारमा बाँडिएको भन्दै उहाँले सत्यको संवाहक हुन सञ्चारकर्मीलाई आग्रह गर्दै आफूहरू देशको पक्षमा रहेको दाबी गर्नुभयो ।




















