एजेन्सी सोउल := दक्षिण कोरियाको राष्ट्रपतिमा युन सुक यओल निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न राष्ट्रपतिय निर्वाचनबाट विपक्षी पिपुल्स पावर पार्टीका नेता यओल राष्ट्रपति निर्वाचित हुनुभएको हो । पूर्व महाअभियोजनकर्ता समेत रहनुभएका ६१ बर्षिय युनले सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जाय म्योंगलाई झिनो मतान्तरले हराउँदै राष्ट्रपति निर्वाचित हुनुभएको हो ।
युनले ४८ दशमल ५६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने म्योंगले ४७ दशमल ८३ प्रतिशत मत पाउनुभएको थियो । कन्जरभेटिभ विचारधाराका युन कोरियाली प्रायद्विपमा शान्ति र एकताका पक्षधर हुनुहुन्छ ।
वर्तमान राष्ट्रपति मुन जाय इनको कार्यकाल आगामी मे मा सकिएपछि युनले कार्यभार सम्हाल्नु हुनेछ । कोरियामा पछिल्लो समय घट्दो जन्मदर, आवास क्षेत्रमा बढ्दो महँगी र सामाजिक असमानता जस्ता विषय नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण रहने छन् ।
निर्वाचित भएसँगै इयोलले बिहीबार आफूले संविधानको सम्मान गर्ने र विपक्षी दलहरूलाई साथमा लिएर काम गर्ने बताउनुभएको छ । उहाँले बुधबार भएको निर्वाचनलाई ‘महान मानिसहरूको जीत’ भन्नुभयो । इयोललाई अमेरिकाले जीतको शुभकामना दिएको छ ।




















