चालकले घुम्ती कटाउन नसक्दा भयो दुखद दुर्घटना, मृतकमध्ये १२ जना एउटै नगरपालिकाका
[ निरोज कोइराला ]
संखुवासभा:= संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मादी-६ पुलुङस्थित सातघुम्तीमा बिहीबार बिहान ७ बजेतिर बा४ख ७३५ नम्बरको बस दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो । १४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा मादी नगरपालिकाका मात्रै १२ जना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार दुर्घटनामा बसका चालक र सहचालकको पनि मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उहाँका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक रहनुभएको छ । दुर्घटनामा मादी-६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी-५ का ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहालको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुमको औँशीडाँडाका सवारी चालक विपिन निरौला र मादी-४ का ६० वर्षीय बलबहादुर कार्की र मादी-५ का युका पोखरेलको मृत्यु भएको उहाँले बताउनुभयो ।
दुर्घटनास्थल पुग्दा अवस्था भयानक थियो : वडाध्यक्ष तामाङ
दुर्घटना भएको सूचना पाउनासाथ आफूहरू घटनास्थल पुगेको मादी–६ का वडा अध्यक्ष धननारायण तामाङले बताउनुभयो । आफूहरू दुर्घटनास्थल पुग्दा अवस्था अत्यन्तै भयानक देखिएको उहाँको भनाइ छ । ‘हामी साढे सात बजेतिर दुर्घटनास्थल पुगेका थियौँ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ पुग्दा अवस्था कहाली लाग्दो थियो । सात घुम्तीमा गाडी नमोडी सिधै खसेको जस्तो देखियो । बस पहिला सडकबाट केही तल खसेको र त्यहाँ बजारिएपछि फेरि तल पुगेको जस्तो देखिन्थ्यो । सडकबाट करिब ५० मिटर तल ११ वटा शव भेटिए र बाँकी शव त्योभन्दा तल भेटिएका थिए ।’
बसको छतसहितको भाग टुक्राटुक्रा अवस्थामा रहेको थियो । सिट र पांग्रा मात्र देखिने अवस्थामा थियो । घाइतेहरू छट्पटाइरहेका थिए । जताततै लाश छरिएका थिए । दुर्घटनास्थल कल्पना गर्न नसकिने अवस्थाको थियो’, उहाँले भन्नुभयो ।
मादीकै चारजना घाइते
दुर्घटनामा मादीकै चारजना घाइते भएका छन् । घाइते चारैजना मादी नगरपालिकाका हुन् । घाइते हुनेमा मादी–५ का सुभाष गोले, मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाका घाइते पाँच जनालाई हेलिकप्टरबाट थप उपचारका लागि धरान लगिएकोमा एक जनाको उपचारका क्रममा ज्यान गएको छ । चार जनाको उपचार जारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार चारै जनाको अवस्था खतरामुक्त छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले जनाएको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार बस तीव्र गतिका कारण घुम्तीमा कटाउन नसक्दा दुर्घटना भएको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको उहाँले बताउनुभयो । ‘कारण यही हो भन्न सकिने अवस्था छैन । घुम्ती भएको सडकमा तीव्र गतिका कारण दुर्घटना भएको अनुमान छ,’ उहाँले भन्नुभयो, ‘ओरालोमा दुर्घटना भएको छ । ओरालो बाटोमा तीव्र गतिका कारण चालकले घुम्ती कटाउन नसक्दा दुर्घटना भएको हुनसक्छ । कुनै मेकानिकल खराबी पनि थियो कि भन्ने आशंका छ ।’




















