काठमाडौं:= रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार भएको छ । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकमा जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिनुभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
राजदूतले उद्धार कार्यपछि उनीहरूको पुनस्र्थापना चुनौतीपूर्ण रहेको बताउनुभयो । युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्यान्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावालगायत देशमा पुगेका छन् । पछिल्लो तथ्यांकअनुसार हालसम्म पोल्यान्डमा चार सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा आठजना र चार माल्दावा पुगेका हुन् ।
हालसम्म चार सय ८४ जना नेपाली सुरक्षित गन्तन्यमा पुगेको एनआरएनएले जनाएको छ । राजदूत खड्काका अनुसार तीनजना नेपालीलाई भारतीय उडानमार्फत् उद्धार गरिएकाले उनीहरू नयाँदिल्ली हुँदै नेपाल आउने तयारीमा छन्। युक्रेनबाट निस्केकामध्ये ४० नेपालीले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।
करिब ३८ जनाको परिवार आफनो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारिक, कानुनी र व्यावहारिक कारणले युक्रेनमा रहेका छन् । उद्धार समिति संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेन युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारण समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताउनुभयो ।
एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालले युद्धपीडित नेपालीको पुनस्र्थापनाका लागि आर्थिक संकलन गर्न आग्रह गर्नुभयो । बैठकले दाहालको संयोजकत्वमा युद्धपीडितका लागि आर्थिक सहयोग संकलन समिति गठन गरेको समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।
एनआरएनए पोल्यान्डका अध्यक्ष जीवन केसीले नेपालीहरूको सहयोगमा युद्धपीडितको उद्धार र व्यवस्थापन सफल भएको बताउनुभयो । एनआरएनए हंगेरीका संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले चारजना नेपाल फर्किएको र तीमध्ये दुई भारतीय सरकारको सहयोगमा नेपाल गएको जानकारी दिनुभयो ।




















