नेताहरू भन्छन् : ‘जनतालाई आफ्नो कुरा सुनाउन हैन जनताको कुरा सुन्न पनि घर-घरमा जान लागेको हो’
[ अनिल क्षेत्री ]
काठमाडौं:= सरकार तथा सत्तारूढ चार दलीय गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले फागुन २९ देखि चैत्र २९ गतेसम्म सञ्चालन हुने एकमहिने चुनाव केन्द्रित अभियानपछि मात्रै आगामी निर्वाचनमा चुनावी गठबन्धनबारे निर्णय लिने भएको छ ।
सत्तारूढ गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूले कांग्रेससँग आगामी निर्वाचनमा तालमेल गरेर जाने सहमति भइसकेको दाबी गरिरहेका बेला नेपाली कांग्रेसले भने गठबन्धनबारे अहिले नै कुनै निर्णय नभएको जनाएको छ ।
कांग्रेसले पार्टीले सञ्चालन गर्ने आगामी चुनाव केन्द्रित एकमहिने अभियानपछि बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकले चुनावी तालमेल सम्बन्धमा निर्णय लिने र त्यसअघि गठबन्धनबारे पक्ष/विपक्षमा कुनै बहस नगर्ने जनाएको छ ।
फागुन १५ गते संसद्मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गर्ने शर्तमा चुनावी तालेमल गर्ने गठबन्धनमा सहमति भएको दाबी गरिएको थियो ।
गटबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामेबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसिसी अनुमोदन भएसँगै आगामी निर्वाचनमा वर्तमान गठबन्धन तालमेलसहित चुनावमा जाने निश्चित भएको दाबी गर्नुभएको थियो ।
यस्तै, अर्को सत्तारूढ गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धनमा आबद्ध दलहरूबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गर्नुभएको छ ।
चुनावी तालेमेलका विषयमा तत्काल मौन बस्ने रणनीति अख्तियार गरेको कांग्रेसले गठबन्धनलाई एकमहिने अभियानको एजेण्डा बनाएको छैन । ‘घरघर जाऔँ, कांग्रेस जिताऔ’ नारासहित एकमहिने अभियानको तयारीका सम्बन्धमा मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीसहित उपलब्ध केन्द्रीय सदस्यको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी अभियानका क्रममा वर्तमान सत्ता गठबन्धनलाई असर पर्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिनुभएको थियो ।
चुनावी तालमेल गर्ने/नगर्ने केन्द्रीय समितिले निर्णय गर्छ : खड्का
एकमहिने अभियानबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले वैशाखमा हुने स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्नेबारे केन्द्रीय समितिमा व्यापक छलफल गरेर सर्वसम्मत निर्णय गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म तालमेलबारे निर्णय गरेका छैनौँ । जसरी एमसिसीका विषयमा पार्टीभित्र व्यापक छलफल गरेर एकताबद्ध र एकढिक्का भएर निर्णय गरेका थियौँ, त्यसरी नै चुनावी तालमेलका विषयमा व्यापक छलफल गरेर एकताबद्ध भएर सर्वसम्मत निर्णय गर्छौँ ।
अहिले नै तालमेलको पक्ष वा विपक्षमा बहस गर्ने, अहिले नै तालमेल गर्ने नगर्ने भनेर अपरिपक्व निर्णय गर्दैनौँ । कांग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठकबाट मात्रै चुनावी तालमेलका बारेमा निर्णय हुन्छ, कांग्रेस प्रष्ट छ, कांग्रेस अलमलिँदैन ।’ उपसभापति खड्काले अगाडि भन्नुभयो, ‘गठबन्धनको बैठक नियमित बस्छौँ । विभिन्न एजेण्डामा छलफल हुन्छ । निर्वाचनमा सँगै जाने नजानेबारे कुन नेताले कहाँ के तरिकाले बोल्नुहोला ।
कांग्रेसको दृष्टिकोण अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय आउँछ ।’ सबै राजनीतिक दलहरूले निर्वाचन केन्द्रित रणनीति बनाइरहेको भन्दै उपसभापति खड्काले भन्नुभयो, ‘कांग्रेसले गठबन्धनबारे अहिले केही बोल्दैन । तर, हामी जे गर्दा बढीभन्दा बढी सिट जितिन्छ त्यहीअनुसार रणनीति बनाउँछौँ । सबै मिलेर जाँदा धेरै जितिन्छ भन्ने लागेमा त्यहीअनुसार जान्छौँ।’
कांग्रेसले एमसिसीबारे फैलाइएको भ्रम चिर्छ : डा. महत
पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएको एमसिसी सम्झौताबारे फैलाइएको भ्रम कांग्रेसले चिर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘एमसिसीको सन्दर्भमा व्यापक दुष्प्रचार गरियो । सोझा नागरिकमा यथार्थभन्दा भ्रमको जनमत गराइयो। त्यसलाई चिर्नेछौँ ।’
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति लक्षित गर्दै भन्नुभयो, हरियो रङमा नै एमालेले आपत्ति गर्ने हो भने नेपालका ४० प्रतिशत वनजंगल फाँड्नुपर्ने बताउनुभयो । उहाँले एमाले कांग्रेसको प्रभाव बढेको देखेर तर्सिएको जिकिर गर्नुभयो । ओली आत्तिएर एमालेविरुद्ध षड्यन्त्र भयो भन्न थालेको उहाँको भनाइ थियो ।
उहाँले सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावसम्म गठबन्धन रहने संकेत गरेको बताउनुभयो । डा.महतले भन्नुभयो, ‘हामी स्थानीय चुनावका लागि फागुन २९ देखि चैत २९ सम्म घरदैलो अभियान गर्दैछौँ । यो अभियानमा गठबन्धनबारे हामी खासै कुरा राख्दैनौँ ।’ गठबन्धनका बारेमा अहिले धेरै बोल्न आवश्यक नभएको भन्दै डा. महतले अगाडि भन्नुभयो, ‘गठबन्धनका विषयमा धेरै बोल्न आवश्यक छैन ।
जुनबेला निर्वाचनमा उम्मेदवार उठाउने समयमा आउँछ हरेक पार्टीले आफ्नो स्ट्रेन्थ विकनेस प्रस्तुत गर्छन् । सोहीअनुसार पार्टीको दृष्टिकोण बन्छ । सबै पार्टीहरूले आन्तरिक ढंगबाट निर्वाचनको तयारी गरिरहेका छन् । सबै पार्टीलाई सँगै जाँदा निर्वाचनमा राम्रो हुन्छ भन्ने लाग्यो भने त्यही निर्णय हुन्छ । एक्लै जानुपर्ने भन्ने भयो भने पनि सोहीअनुसार पछि नै निर्णय हुन्छ ।’
यता, महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर-घरमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस जनतासँग मत माग्न मात्र जाँदै छैन, निर्वाचनमा भाग लिन अभिप्रेरित गर्नेछ । कांग्रेससँग कसैले आत्तिनु पर्दैन । कांग्रेस मर्यादित रूपमा चुनावी अभियानमा जाँदै छ ।’
वर्तमान गठबन्धन निर्वाचनसम्मै जान्छ : पौडेल
यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन कार्यको विरोध र संविधान बचाउन गरिएको गठबन्धन निर्वाचनसम्मै लैजाने दाबी गर्नुभएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति तनहुँले बुधबार दमौलीमा गरेको तरुण भेलालाई सम्बोधन गर्दै उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहनुभएका वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गरिएको गठबन्धनलाई निर्वाचनसम्मै लैजाने बताउनुभएको हो । जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा हुने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने दाबी गर्नुभयो ।




















