कांग्रेस पार्टीलाई बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनायो: ओली

मोरङ:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढो भइसकेको कांग्रेस जोगाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइरहेको आरोप लगाउनुभएको छ । मोरङको रंगेलीमा आयोजित मेयर–उपमेयरको पार्टी प्रवेश तथा सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेस विस्तारै बुढो हुँदै गएको व्यङग्य गर्दै बुढो रुख जोगाउनै निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाएको जिकिर गर्नुभयो । उहाँले चुनाव चिन्ह हरियो राख्न नहुने बिषयमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब कांग्रेसमा लागेर केही हुनेवाला छैन । चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरिँदैन ।’ पछिल्लो समय निर्वाचन आयोगले मतपत्रको रङ बदलेर हरियो बनाउने निर्णय गरेकोमा आपत्ति जनाउनुभएका ओलीले रंगेलीमा पनि त्यसविरुद्ध आक्रोश पोख्दै कांग्रेस र निर्वाचन आयोगको आलोचना गर्नुभयो । ‘कांग्रेसको सुकेको बुढो रूख जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय ग¥यो । चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरिँदैन,’ ओलीले भन्नुभयो, ‘कांग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन । अब कांग्रेसको दाँत मात्रै झरेको होइन उसको रूखै सुकिसकेको छ ।’

देश निर्माणको रणनिति र भावी कार्ययोजना बेगरै कांग्रेसले सरकार सञ्चालन गरिरहेको तर्क गर्दै उहाँले एमाले नेतृत्वको सरकार हुँदा मुलुकमा असाधारण ढंगले काम भएको दाबी गर्नुभयोे । उहाँले भन्नुभयोे, ‘कांग्रेससँग भिजन छैन । यस्तो ढुलमुले नीतिले देश चल्दैन । खोई त दुरदर्शीता ?’

अध्यक्ष ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको चुनावमा जित हासिल गर्ने दाबी गर्नुभयो । उहाँले समृद्धिको यात्रामा कतै पनि नअलमलिइ देशव्यापी रूपमा लाग्ने विश्वास दिलाउनुभयो । अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

एमालेभित्रको घुसपेठले पार्टी र सरकार विस्थापित भएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा गलत काम गर्नेहरू चिनिएकाले उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गर्नुभयो । उहाँले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्दै विगतमा एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दाबी गर्नुभयो ।