ललितपुर:= ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाको कारण सफल हुन नसकेको बताउनुभयो । उहाँले शुक्रबारबाट लागू हुने गरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताउनुभयो ।
जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । मेयर महर्जनले सरकारले विभिन्न कानुन तर्जुमा गरे पनि कार्यान्वयन नगरेको दावी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाउनुभयो ।




















