युक्रेनी राष्ट्रपति जेलेन्स्कीमाथी रुसले गरेको तीनवटा हत्या प्रयासबाट बचेको दाबी।

किभ:= युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो पत्रिकाले दाबी गरेको छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ छ ।

रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन पोस्टले पनि लेखेको छ ।

राष्ट्रपतिको हत्या पछाडि लागि परेको बताइएका चेचेन विशेष फौजलाई युक्रेनी एक सुरक्षा नेताले समाप्त पारिदिएको सो पत्रिकाले जनाएको थियो । रुसी सेनाले युक्रेन हमलालाई झनै आक्रमक बनाएको छ ।

शुक्रबार मात्र रुसी सेनाले युक्रेनको आणविक केन्द्रमा आगो लगाइदिएको थियो । आगो लगाइदिएपछि सो केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ । युरोपकै ठूलो बताइएको सो आणविक केन्द्रमा भएको हमलाको विश्व समुदायले निन्दा गरेको छ ।

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छः नेटो

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने ।

उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगराउनेसमेत घोषणा गरेका छन् । त्यस्तै, नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनको भनाई छ ।

यसैबीच, नेटोको घोषणाले युक्रेनी राष्ट्रपति जेलेन्स्की क्रुद्ध बनेको प्राप्त विवरणहरुमा जनाइएको छ । युक्रेनमाथि रुसी सेनाले हमला गर्दा पश्चिमा देश र नेटोले सहयोग नगरेको राष्ट्रपति जेलेन्स्कीले गुनासो गर्दै आएका छन् ।

युक्रेन हमलाको दशौं दिन रुसी सेनाले युक्रेनका मुख्य सहरमा झनै आक्रमक कारबाही गरेको छ । रुसी सेनाले युक्रेनका महत्वपूर्ण पूर्वाधार र विश्वविद्यालय ध्वस्त बनेका छन् । रुसी सेनाको आक्रमण प्रतिकार गर्न युक्रेनलाई जर्मनी, अमेरिकालगायतका देशहरुले सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् ।