काठमाडौं := राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिएको छ । नेकपा एमालेका आठ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एकजनाको पदावधि सकिएको हो ।
निर्वाचित १९ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक गरी २० जनाको पदावधि शुक्रबारसम्म थियो । यसबीचमा राष्ट्रियसभामा १९ जना नयाँ सांसद निर्वाचित भइसकेका छन् । गत माघ १२ मा भएको निर्वाचनबाट सत्तारूढ गठबन्धनका पाँच दलबाट १८ जना र नेकपा एमालेबाट एक गरी १९ सांसद निर्वाचित भएका थिए ।
निर्वाचित नयाँ सांसदलाई शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा शपथ खुवाउने कार्यक्रम तय भएको छ । नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एकीकृत समाजवादीबाट पाँच, नेकपा एमालेबाट एक, जसपाबाट एक, राष्ट्रिय जनमोर्चाबाट एक सांसद निर्वाचित भएका थिए ।
रिक्त पदका लागि २० जना सांसद निर्वाचित भइसकेका छन् । बिदा हुन लागेकामध्ये सबैभन्दा बढी सांसद नेकपा(एमाले)का छन् । एमालेका अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, पर्शुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त हुँदैछ ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशिकला दाहाल, नेकपा (एकीकृत समाजवादी)का उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको कार्यकाल पनि सकिएको छ ।
यसैगरी, नेपाली कांग्रेसका दृगनारायण पाण्डे, राधेश्याम अधिकारी र तारादेवी भट्टको पनि कार्यकाल सकिएको छ । यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण बिडारीको पनि कार्यकाल सकिएको छ । निर्वाचित १९ सांसदहरूको शपथग्रहण कार्यक्रम आज हुँदैछ ।




















