एमसीसीविरुद्ध काठमाडौंमा साना वाम दलको विरोधसभा।

एमसीसी कार्यान्वयन गर्न नदिने चेतावनी

[ डिबी शर्मा ] 

काठमाडौं:= अमेरिकी सहयोग परियोजना मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरुद्ध साना वामपन्थी दलले शुक्रबार काठमाडौंमा विरोध कार्यक्रम गरेका छन् । खुल्ला मञ्चमा विरोधसभा आयोजना गर्न अघि वामपन्थी  दलहरूले विराध र्‍यालीको आयोजना गरेका थिए ।

एमसिसी संसद्बाट पारित गरेको विरोधमा ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले संयुक्तरूपमा विरोधसभा गरेका हुन् । विरोधसभामा दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरू सार्वजनिक गरेका थिए । विरोधका कार्यक्रमहरूमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने कार्यक्रम थियो ।

मोर्चामा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी छन् ।

व्याख्यात्मक घोषणाको भ्रमजाल फालियो, यसको तुक छैन ; वैद्य

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले एमसिसीविरोधी आन्दोलन जारी रहने बताउनुभएको छ । शुक्रबार खुल्ला मञ्चमा आयोजित विरोधसभामा बोल्दै महासचिव वैद्यले एमसिसीविरोधी आन्दोलनको ऐतिहासिक महत्व रहेको बताउनुभयो । ‘एमसिसी राष्ट्रघाती छ ।

नेपालमा एउटा राष्ट्रघात थप भएको छ,’ उहाँले भन्नुभयो, ‘यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर, सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ ।’

उहाँले एमसिसीको व्याख्यात्मक घोषणा भनेर राजनीतिक दलहरूले भ्रमजाल फालेको बताउनुभयो । उक्त व्याख्यात्मक घोषणालाई अमेरिकाले नस्वीकारेको उहाँको बुझाइ छ । ‘यो घोषणा कानुनको अंग भएको भनेर भ्रम दिएको छ । यो अर्थहीन छ,’ उहाँले भन्नुभयो, ‘यो कुनै अन्तर्राष्ट्रिय कानुनको अंग बनेको छैन । यसको अर्थ तुक केही छैन । भ्रमजाल मात्रै फालिएको हो ।’

एमसिसी गुमनाम लागू हुन्छ भन्नु मूर्खता हो : विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्दले संसद्बाट पारित भएको एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिनुभयो । उहाँले त्यसका लागि एकताबद्ध भएर अघि बढ्न पनि सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गर्नुभयो ।

उहाँले प्रचण्ड-माधव नेपालले एमसिसी संसद्बाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाउनुभयो । ‘नेपाली जनताले एमसिसीको विरोध गरिरहेका छन् । हरेक पार्टीभित्र यसको विरोध भइरहेको छ । जनताले खारेजको माग गरेका छन्,’ उहाँले भन्नुभयो, ‘एमसिसी लागू हुने छैन । हुन दिँदैनौं । एमसिसी गुमनाम लागुहुन्छ भन्नु मूर्खता हो । यसलाई लागू गर्न नदिएर खारेज गरिदिनु पर्छ ।’

एमसिसी कार्यान्वयनमा आए नेपालको हालत युद्धरत मुलुकहरूको जस्तै हुनेछ : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसिसी कार्यान्वयनमा आए नेपालको हालत युद्धरत मुलुकहरू इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने चेतावनी दिनुभयो । उहाँले एमसिसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन पनि सबैलाई अपिल गर्नुभयो ।

‘अमेरिकी आशीर्वाद लिएर चुनाव जित्नका लागि ठूला दलहरूले एमसिसी संसद्बाट पारित गराउन प्रतिस्पर्धा गरे । एमसिसी लागू भयो भने हाम्रो स्थिति अफगानिस्तानको जस्तो हुनेछ,’ उहाँले भन्नुभयो, ‘हाम्रो स्थिति इराकको जस्तो हुनेछ । सिरियाको हुनेछ । यो मैले भावावेशमा आएर भनेको छैन ।’

विरोध सभामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चासहितका विभिन्न राजनीतिक दलका नेताहरूले एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा आउन नदिन सशक्त आन्दोलन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका थिए । विरोधसभा सुरु हुनुअघि काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निकालिएको थियो ।