एमसिसी पास भएपछि कांग्रेसबाहेकका प्रमुख दलहरूभित्र दरार पैदा।

काठमाडौं:= प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुमोदन भएपछि प्रमुख दलहरूभित्र देखिएको मतान्तर बढ्दै गएको छ । आन्तरिक विवादबीच एमसिसी अनुमोदनको पक्षमा उभिएका दलहरूभित्रको विवाद बढ्दै गएको हो ।

एमसिसी अनुमोदन प्रक्रियामै सामेल नभएको एमालेभित्र पनि यसबारे मतान्तर छ । दलहरूभित्रको मतान्तर गत सोमबार संसद्मै पनि देखिएको थियो । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले संसद्मै समर्थन र विरोधका आवाज उठाएका थिए ।

एमाले नेता भीम रावलले आफ्नै पार्टीको नाराबाजीबीच एमसिसीको विपक्षमा जोडदार आवाज उठाउनुभएको थियो र विपक्षमा मत समेत जाहेर गर्नुभएको थियो । रावलले संसद्मा गरेको सम्बोधनलाई लिएर अहिले पार्टीभित्र सवाल-जवाफ चलिरहेको छ ।

नेपाली कांग्रेसमा भने एमसिसीबारे एकमत छ । जुन संसद्बाट अनुमोदन हुनुअघि पनि एकमत थियो । राष्ट्रिय जनमोर्चा एमसिसी पारित भएपछि गठबन्धनबाट बाहिरिएको छ । एमसिसी गत सोमबार राति विवाद र विरोधबीच प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित पारित भएको थियो ।

माओवादीमा बढ्दै विवाद

माओवादी केन्द्र यथास्थितिमा एमसिसी पारित गर्न नहुनेमा थियो । राष्ट्रिय महाधिवेशनले समेत यथास्थितिमा एमसिसी पास गर्न नहुने निष्कर्ष निकालेको थियो । तर, गत सोमबार माओवादी केन्द्र एकाएक एमसिसीको पक्षमा देखियो ।

व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी सहमत भए पनि नेताहरूले आफ्नो असहमति दलका बैठक र संसद्मै समेत देखाए । संसद्मा एमसिसी अनुमोदन भइरहँदा पाँच जनाले बैठक नै बहिष्कार गरेका थिए भने दुई जना सांसदले उपस्थित भएर ‘हुन्न’ भन्दै विपक्षमा मत प्रकट गरेका थिए ।

नेता नारायणकाजी श्रेष्ठले त एमसिसी पारित भएको दिनलाई कालो दिनकै संज्ञा दिनुभयो । ‘व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराई छाडे,’ श्रेष्ठको टिप्पणी थियो, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् ।’

श्रेष्ठले सार्वजनिक रूपमै दिएको यो अभिव्यक्तिपछि माओवादीभित्रको विवाद बढ्दै गएको छ । श्रेष्ठबाहेक अरु नेता पनि एमसिसीबारे पार्टीको निर्णयलाई लिएर असन्तुष्ट बनेका छन् ।

जवाफमा अध्यक्ष प्रचण्डले असन्तुष्टि पार्टीभित्रे राख्न र बाहिर गए फाइदा नहुने घुमाउरो चेतावनी दिएपछि असन्तुष्टि थप बढेको छ । आन्तरिक असन्तुष्टिले पार्टी विभाजनसम्मको चर्चा माओवादीभित्र छ । मंगलबार माओवादी अध्यक्ष प्रचण्डले श्रेष्ठकै निवासमा गएर भेटे पनि मन माझिएको छैन ।

माओवादी नेता श्रेष्ठसँग विप्लवको भेट

एमसिसी अनुमोदन सम्बन्धमा पार्टी नेतृत्वप्रति असन्तुष्ट रहनुभएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गर्नुभएको छ । बुधबार श्रेष्ठलाई भेट्न विप्लव श्रेष्ठको हात्तीवनस्थित निवासमै पुग्नुभएको थियो ।

भेटमा विप्लवले एमसिसी अनुमोदन राष्ट्रहितविपरीत गरिएकाले राष्ट्रवादीहरूबीच नयाँ ढंगबाट एकता र सहकार्य गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । विप्लव निकटका एक नेताले दिनुभएको जानकारी अनुसार नेता श्रेष्ठले एमसिसीमा नेतृत्वले धोका दिएको बताउनुभएको थियो । श्रेष्ठले पार्टी विभाजन वा परित्याग गर्न सक्ने चर्चाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेकपा एसमा खनाल र नेपालबीच मतान्तर

व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउनबाट रोक्यो : नेपाल

व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन : खनाल

एमसिसी पारित भएपछि सरकारमै सामेल अर्को दल नेकपा एकीकृत समाजवादीमा समेत मतान्तर देखिएको छ । व्याख्यात्मक घोषणासहित अनुमोदन गराउँदा विपक्षमा देखिएका नेताहरूले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमै राख्न थालेका छन् ।

एमसिसी अनुमोदनपछि गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पु¥याउनबाट रोकिएको दाबी गर्नुभएको थियो । एमसिसीले उत्पन्न गराएको जटिलता र संशयपूर्ण क्रियाकलापलाई व्याख्यात्मक घोषणाले अन्त्य गरेको उहाँको दाबी थियो ।

तर, सम्मानित नेता खनाल भने खुलेरै व्याख्यात्मक घोषणाको विरोधमा हुनुहुन्छ । उहाँले संसद्मै पनि एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्न नहुने धारणा राख्नुभएको थियो । उहाँले सोही धारणा बुधबार पनि दोहोर्‍याउनुभयो । खनालले एमसिसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको संज्ञा दिनुभएको छ ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताउनुभयो । ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन,’ उहाँले भन्नुभयो, ‘नेपालका नेताहरू आनन्दपूर्वक सुतून् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरू सुत्नुभएको छ ।’