माओवादी केन्द्रको विवाद: प्रचण्ड थप तनावमा, के माओवादी केन्द्र फुट्न लागेको हो त?

काठमाडौं:= गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रको विवाद सतहमा आएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएको नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।

पूर्वएकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आँकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गर्नुभएको थियो। भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेको कुरालाई लिएर अन्यथा नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गर्नुभएको श्रेष्ठले जानकारी दिनु भएको थियो।

बीबीसी नेपालीसँगको कुराकानीमा नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्ने सवालमा मतभेद देखिएको बारे भेटमा कुरा भएको बताउनु भयो । ‘एमसीसी पारित गर्ने सवालमा मतभेद देखियो त्यो राख्नुस्, तर पार्टीलाई एकतावद्ध बनाएर लैजानु नै आजको आवश्यकता हो’ प्रचण्डको भनाइ उदृत गर्दै श्रेष्ठले आफूहरु पार्टीबाट निस्कने निष्कर्षमा पुगेर गतिविधि नगरेको बताउनु भएको थियो ।

‘पार्टीबाट निस्कने निष्कर्षमा पुगेर गतिविधि गरेको होइन तर बाहिर गए हुन्छ भनेपछि, हामी पार्टिमा बस्नु नपर्ने जस्तो, बाहिर जानु पर्ने जस्तोस्थिति त्यो प्रस्तुतिले दिएको’ उहाँले प्रचण्डसँग बताउनु भएको थियो । त्यसअघि सोमबार एमसीसीबारे पार्टी धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भन्नुभएको थियो।

‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला । जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला । एमसीसीको विरोध गर्न बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन ।’

महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावी नतिजा शून्य भएको प्रचण्डले स्मरण गराउनु भएको थियो।
‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्यो भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जिरो भयो । त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनु पर्छ ’ उहाँले भन्नुभएको थियो ।

प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरुले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । जसलाई नेता श्रेष्ठको अभिव्यक्तिले पनि पुष्टि गर्छ ।’अस्ति प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ आफू निकटका नेता, कार्यकर्तासँग छलफलमा हुनुहुन्छ’ श्रेष्ठ निकट एक नेताले भने ।

तर असन्तुष्ट पक्षका एक नेताले भने आफूहरुले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीररुपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई समान्य रुपमा लिनु पर्ने बताए । आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठकमा नेता श्रेष्ठ पक्ष कडा रुपमा प्रस्तुत हुने र त्यहाँबाट पार्टीमा रहने वा नयाँ विकल्पबारे अघि बढ्ने निस्कर्षमा पुग्ने तयारी छ ।

प्रचण्ड तनाव !

पार्टी भित्रको विवाद जारी रहँदा प्रचण्डलाई अर्को तनाव थपिएको छ । माओवादी जनयुद्धमा आफ्नो साथमा रहनुभएको नेत्रविक्रम चन्द विप्लवले प्रचण्डलाई थप तनाव दिनुभएको हो । हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव रहनुभएको विप्लवले प्रण्चडले हरिसिद्धी पुगेर फकाउने प्रयास गर्नुभएको नेता श्रेष्ठसँग बुधबार बिहान छलफल गर्नुभएको थियो । त्यसक्रममा विप्लवले राजनीतिक सहकार्य गर्न प्रस्ताव गर्नुभएको छ ।

नेकपा एमालेसँग एकता गरेर नेकपा हुँदै पार्टी पूरानै अवस्थामा फर्कदा सांगठनिक रुपमा प्रचण्डलाई ठूलो घाटा लागेको छ । रामबहादुर थापासहितका वरिष्ठ नेताहरुले एमाले रोजेपछि र माओवादी तर्फ मतदाता र कार्यकर्ताको आकर्षण घटिरहँदा महत्वपूर्ण नेता श्रेष्ठ सहितको समूह कतै आफूबाट टाढिने पो हो कि भन्ने त्रास प्रचण्डमा छ ।

यस्तोमा विप्लवले नेकपा एकीकृत समाजवादीमा एमसीसीको सवालमा असन्तुष्ट देखिएका झलनाथ खनाल र एमालेमा असन्तुष्ट भीम रावललगायतसँग समेत छलफल गरेर अघि बढ्ने विषयहरु बाहिरिँदा प्रचण्ड थप तनावमा हुनुहुन्छ । तर, प्रचण्ड निकटका कतिपय नेताहरुले भने प्रचण्ड अभिव्यक्तिमा चुकेको भए पनि त्यसलाई नेता श्रेष्ठले भागवण्डाको हतियार बनाएको तर्क गर्छन् । ‘असन्तुष्टिलाई पार्टीको बैठकमा राखेर अघि बढ्नु पर्नेमा समस्यालाई बाहिर उजागर गरेर उहाँले बार्गेनिङ गर्न खोज्नु भएको छ’ प्रचण्ड निकटका एक नेताले आरोप लगाए ।