काठमाडौं := नेकपा एमाले एमसिसी अनुमोदन प्रक्रियामा सामेल नै भएन । संसद्मा एमालेका नाराबाजीबीच एमसिसी अनुमोदन गरिएको थियो । समूहगत रूपमा भने एमसिसीबारे एमालेमा ठूलो मतान्तर छैन । अब एमसिसी कार्यान्वयनको चरणमा जानुपर्ने धारणा एमालेले सार्वजनिक गरिसकेको छ ।
तर, एमाले नेता भीम रावलले भने संसद्मा एमसिसीविरुद्ध बोल्नु मात्रै भएन विपक्षमा मतसमेत व्यक्त गर्नुभयो । यही विषयलाई लिएर एमाले अध्यक्ष ओली र नेता रावलबीच सवाल-जवाफ नै चलको छ । अध्यक्ष ओलीले नेता रावल हिरो बन्न खोजेको टिप्पणी गर्नुभएको छ ।
‘भीम रावल पार्टीको धारणा वा काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत हुनुभएको छ । मैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ । आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने काम कुनै पनि बहानामा राम्रो होइन,’ ओलीको भनाइ थियो, ‘चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको हाम्रो पार्टीले लिएका नीति सही छन् । त्यसविरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन् ।’
ओलीले हिरो बन्न खोजेको टिप्पणी गरेपछि नेता रावल पनि प्रतिकारमा उत्रिनुभएको छ । नेता रावलले अध्यक्ष ओलीलाई देशहितको पक्षमा बोलेर ‘महाहिरो’ बनेर देखाउन चुनौती दिनुभएको छ । ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसद्मा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’
यसैबीच, अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट अनुमोदन भएको स्वीकार गर्दै अब कार्यान्वयनको दिशातिर भएको जनाएको छ । एमसिसी मुख्यालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको एमसिसी सम्झौतालाई आफूले स्वीकार गरेको जनाएको हो ।




















