काठमाडौं:= नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विकास सहायता परियोजना एमसिसी संसद्बाट पास गर्दैमा अमेरिकी सेना नआउने जिकिर गर्नुभएको छ । एमसिसीबारे कट्टर विरोधी पार्टी समाजवादीले आइतबार युटर्न लिँदै संसद्मा पक्षमा उभिएको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘संसद्ले अनुमोदन गरिसकेपछि अमेरिका र चीनले पनि सकारात्मक भनिसकेका छन्’, उहाँले भन्नुभयोे, ‘हामीले १२ बुँदे व्याख्या गरिसकेका छौँ । यसलाई अमेरिकाले मानिसकेको छ।’ नेपालले संविधानमाथि अरू कुनै कुरा हुन नसक्ने पनि बताउनुभएको छ । ‘१२ बुँदे व्याख्याले संविधानको सर्वोच्चतालाई स्वीकार गरेको छ’, उहाँले भन्नुभयो, ‘एमसिसी अघि बढ्दैमा अमेरिकी सेना आउँदैन, नेपालको भूमि कब्जा गर्दैन । हामी अमेरिकी सैन्य रणनीतिको अंग हुन सक्दैनौँ ।’
नेपालले अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ‘ट्रयाप’मा पारेर नेपाललाई चीन विरोधी क्रियाकलाप सञ्चालन गराउन खोजेको लगाउनुभयो । अमेरिकामा राष्ट्रपति परिवर्तन भएसँगै आफूहरूले निरन्तर कुरा उठाएसँगै नेपाललाई इन्डोप्यासेफिक रणनीतिबाट हटाइएको उहाँले दाबी गर्नुभयो ।
यसैबीच, अध्यक्ष नेपालले एमसिसी सम्झौतासँगै संसद्बाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानुनी मान्यता पाउने बताउनुभएको छ । नेकपा (एमाले) को समेत सम्झौतामा औपचारिक विरोध नभएकाले सम्झौता दुई तिहाइभन्दा बढी मतले पारित भएको उहाँले दाबी गर्नुभयो । सम्झौता अनुमोदनपछि अमेरिका र छिमेकी देश चीनको समेत सकारात्मक प्रतिक्रिया आएको उहाँले बताउनुभयो ।
जनतामा एमसिसीबारे भएका भ्रमहरूको व्याख्यात्मक घोषणाले प्रष्ट पारेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कसै-कसैले यो व्याख्यात्मक घोषणालाई केही पनि होइन भनेर प्रचार गर्न खोजेका छन्, त्यसलाई अन्तर्राष्ट्रिय सन्धिसम्बन्धी व्यवहारको ज्ञान नभएका अज्ञानीहरूको कुरा मात्रै हो ।’
सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष नेपालले आफूहरू सभामुख अग्निप्रसाद सापकोटाको राजीनामाको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । सभामुखको पक्षमा एकीकृत समाजवादी दृढताको साथमा उभिने उहाँको भनाइ थियो । सभामुख सापकोटाले संसद्को गरिमा र सांसदहरूको अधिकारको रक्षा गरेको भन्दै उहाँले सभामुखको राजीनामा गराउने कुरा नचिताउन चुनौती दिनुभयो ।
यस्तै, उहाँले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी गर्नुभयो । तर, आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यन्त्रहरू एकै मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ’, उहाँले अघि भन्नुभयो, ‘फागुन १ गतेको षड्यन्त्र त्यस्तै थियो ।
त्यही दिन हाम्रो पार्टीको अस्तित्व समाप्त पार्ने षड्यन्त्र भएको थियो ।’ त्यो दिन माधवकुमार नेपालसहित १४ सांसदको मुद्दा पेसीमा चढेको थियो । तर, सत्तारूढ गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग संसद्मा दर्ता गरेका थिए ।
उहाँले बालकोटमा आफूहरूविरुद्ध बनिरहेका षड्यन्त्रको सूचना आफूहरूलाई तत्कालै आउने गरेको पनि बताउनुभयो । नेपालले आफूहरूले वैधानिक रूपमा पार्टी गठन गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आतंकित भएको टिप्पणी पनि गर्नुभयो ।
अध्यक्ष नेपालले आउँदा दिनमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्दा विशेष ध्यान पु¥याउनुपर्ने बताउनुभयो । सरकार तथा मन्त्रालयका नेतृत्वकर्ताले ध्यान दिँदै देशप्रेमी, विषयवस्तुको ज्ञान भएको र अनुभवीहरूलाई यस्तो काममा खटाए मात्रै त्रुटि नहुने उहाँले भन्नुभयो ।




















