एजेन्सी := रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा वार्ता भएको छ । युद्ध सुरु भएको पाँचौँ दिनमा दुई देशबीच बेलारुसमा वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बिबिसीका अनुसार युक्रेनले तत्काल युद्धविराम गर्न र रुसी सेना फिर्ता गर्न माग गरेको छ । रूसले दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताउनुभएको छ । समाचारमा जनाइएअनुसार शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गर्नुभएको थियो ।
सोमबार बेलारुसको सिमानामा भएको वार्तामा युक्रेनले दुई माग अघि सारेको छ । जसमा युक्रेनको तर्फबाट सहभागी टोलीले रूसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनुपर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने शर्त छन्् । युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने सम्भावना कम रहेको अधिकारीहरूले बताएका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनुभएको थियो ।
उहाँले विश्वास नभए पनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिनुभएको थियो । रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिनमा वार्ता भएको हो । यसअघि रूसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्वीकार गरेपछि रूसले आक्रमण अझ बढाएको थियो । रुसी सेनाले युक्रेनमा सोमबार पनि आक्रमण जारी राखे । रुसी सैनिकहरू युक्रेनको राजधानी किभ शहरमा छन् ।
राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । युक्रेनका नागरिकहरूले सामाजिक सञ्जालमा राखेका भिडियोहरूमा रुसी सेनाका ट्यांकरहरू युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ । गत बिहीबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गर्ने घोषणा गरेसँगै युद्ध सुरु भएको थियो ।
चार लाख मानिसले छाडे युक्रेन
संयुक्त राष्ट्रसंघकोे शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायले चार लाख २२ हजार मानिसहरू युक्रेनबाट भागेर छिमेकी देशहरूमा पुगेको जनाएको छ । अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै विस्थापित भएको युएन एचसी आरले जनाएको छ ।
युएन एचसी आरका अनुसार रेल चढेर देश छोड्न खोज्ने मानिसहरूलाई अवरोध गरिएको विवरण उसले प्राप्त गरेको छ । त्यसबारे अनुसन्धान भइरहेको समेत युएन एचसी आरले जनाएको छ । ‘युएन एचसी आरले देश छाडेर भाग्ने मानिसलाई शरणार्थी मान्छ,’ युएन एचसी आरकी एक प्रवक्ताले भन्नुभयो ।
युरोपियन युनियनद्वारा रूसका उडानमाथि प्रतिबन्ध
युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रूसका उडानहरूमाथि प्रतिबन्ध लगाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले रूसका सबै प्रकारका उडानहरूलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
नेपाल सरकारसँगै छैन यकिन तथ्यांक, पोल्याण्डको सीमामै रोकिए नेपाली
रूस-युक्रेन युद्ध सुरु भएपछि विभिन्न देशहरूले आफ्ना नागरिकको उद्धार गरेका छन् । छिमेकी मुलुक भारतले युक्रेनमा फसेका आफ्ना नागरिकलाई सकुशल स्वदेश ल्याएको छ । अन्य देशहरूले युक्रेनमा फसेका आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । तर, युक्रेनमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँगै छैन ।
युक्रेन-रूस युद्धको मारमा परेका नेपाली उद्धारको पर्खाइमा छन् । केही नेपालीहरू युक्रेनका छिमेकी देश हंगेरी, स्लोभाकिया, पोल्याण्ड, रोमानियालगायत देश पुगेका छन् । जर्मनीस्थित नेपाली दूतावासले विभिन्न देश पुगेका नेपालीसँग समन्वय गरी उद्धारको काम भइरहेको जनाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा गठित ‘रूस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’अनुसार २४४ नेपाली सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुगेका छन् । समितिले विज्ञप्तिमार्फत युक्रेन छाडेर पोल्याण्डमा ६०, स्लोभाकिया र रोमानियामा १२-१२, हंगेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेको जनाएको छ ।
सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीहरू दोस्रो मुलुक जान रोकिएको समितिले जनाएको छ । यता, परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीहरूका बारेमा विभिन्न देशका कूटनीतिक नियोगमार्फत बुझिरहेको जनाएको छ । मन्त्रालयका अनुसार नेपालीलाई बोर्डरबाट बाहिर सुरक्षित स्थानमा सारिएको छ ।




















