पलविरुद्ध दोस्रो जाहेरी: मायाको झुठो नाटक गरि जबरजस्ती मादक पदार्थ पिलाएर बलात्कार भयो।

नवलपुर := पल शाहविरुद्ध दोस्रो पटक जाहेरी दिने पीडित गायिकाका बुबाले छोरीमाथि अभिनेता पल शाहले जबरजस्ती मादक पदार्थ (रक्सी) सेवन पिलाएर बलात्कार गरेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीमा दिइएको जाहेरीमा नाबालिका छोरीलाई माया प्रेम गरेको, विभिन्न झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह नाम गरेको पल शाह भनिने लाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ ।

यस्तै सोही संहिताको २२८ बमोजिम क्षतिपूर्तिसमेत भराइदिन माग गरिएको छ । जाहेरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख गरिएको छ ।

यस्तै जाहेरीमा २०७७ चैत ३१ मा बागलुङको गलकोट महोत्सवमा जाँदा र फर्किँदासमेत शाहबाट गाडीमा बाल यौन दुरुपयोग भएको पनि उल्लेख छ । यस्तै २०७८ पुस १४ गते प्रतिवादीले अन्तिम पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ स्थित दुलेगौडामा प्रदीप थापाको घरमा शाहले अन्तिम पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । सो बेला शाहले मदिरा सेवन गरेर कोठामा गइ बिहे गर्नेलगायतका प्रलोभन दिएर बलात्कार गरेको उल्लेख गरिएको छ ।