काठमाडौं:= विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०-५८ ले सहजै पराजित गर्यो । आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अंक योगदान गर्नुभयो । टाइम्सका सदीश प्रधानले १७ स्कोर गर्नुभयो ।
सहज जित हात पार्ने क्रममा आर्मीले चारै क्वार्टरमा अग्रता बनायो । आर्मीले क्रमशः २२-१०, २४-२०, १७-१६ र २७-१२ को प्रदर्शन गर्यो । महिलाको रोमाञ्चक फाइनलमा अनुषा मल्लको १९ अंक सहयोगमा प्रहरीले रोयल बास्केटबल एकेडेमीलाई ५२-४९ ले हरायो ।
प्रहरीले उपाधिसँगै राउण्ड रोविन लिगमा रोयलसँग व्यहोरेको हारको बद्ला पनि लियो । राउन्ड रोविन लिगमा रोयल विजेता तथा प्रहरी उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए । रोयलकी रोशनी श्रेष्ठले १४ अंक जोडिन् ।
पहिलो क्वार्टरमा दुवैले आठ/आठको बराबरी खेले । प्रहरी दोश्रोमा २०-१५ र तेस्रोमा १४-११ ले अघि रहँदै जितको आधार खडा गरेको थियो । चौथो तथा अन्तिम क्वाटरमा रोयलले १५-१० को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन ।
पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोस्रोले २५ हजार नगद पुरस्कार पाए । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुषा मल्ल ‘मोष्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।
दुवैले जनही १० हजार नगद पुरस्कार हात पार्नुभयो । पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रूपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिनुभयो । दुवैलाई समान सात हजार नगदबाट पुरस्कृत गरिएको थियो ।
विजेतालाई संघीय सांसदसमेत रहनुभएका नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष चतुरानन्दराज वैद्य, आयोजक संघका अध्यक्ष भीससिंह गुरुङ, स्व.लामाका पिता लामा पासाङ शेर्पालगायतले पुरस्कृत गर्नुभयो ।
नेपाल बास्केबटल संघका पूर्वअध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको पुरुषमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । महिलाको राउन्ड रोविन लिगमा पाँच टिम सहभागी थिए । १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि राखेप कभर्डहलमा पहिलो पटक बास्केटबलको प्रतियोगिता भएको हो ।




















